लोकसेवाप्रति आकर्षण ह्वात्तै बढ्यो

शाखा अधिकृतको प्रवेश परीक्षामा २१ हजार सहभागी

118.25k
Shares

काठमाडौं ।

लोकसेवा आयोगप्रतिको विश्वास र आकर्षण ह्वात्तै बढेको छ। लोकसेवा आयोगले शनिबार लिएको शाखा अधिकृतको प्रवेश परीक्षामा देशभरमा उल्लेख्य सहभागिता रहेको आयोगले जनाएको छ।

आयोगका अनुसार आयोगले शनिबार लिएको रा.प. तृतीय श्रेणी शाखा अधिकृत तथा सोसरहको परीक्षामा २१ हजार २७ जनाले परीक्षा दिएका छन्।

आयोगका अनुसार आयोगमा दरखास्त दिएका २३ हजार ७ सय ४२ जनामध्ये ८८ दशमलव ६८ प्रतिशत अर्थात् २१ हजार २७ जना परीक्षामा सहभागी भएका थिए।

परीक्षामा सहभागी भएकामध्ये पुरुषको संख्या १४ हजार ६ सय ७५ रहेको छ भने महिलाको संख्या ६ हजार ३ सय ३२ जना रहेका छन्।

शाखा अधिकृतको प्रवेश परीक्षामा सहभागीको संख्या आयोगको इतिहासमा नै सबैभन्दा बढी रहेको बताइएको छ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले शाखा अधिकृतको प्रवेश परीक्षामा युवायुवतीहरूको अभूतपूर्व सहभागिता रहेको बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘लोकसेवा आयोगप्रतिको आस्था, विश्वास र भरोसा अत्यधिक बढ्न थालेको छ। शनिबारको शाखा अधिकृतको प्रवेश परीक्षामा भएको सहभागिताले यसको पुष्टि गरेको छ। यसले आयोगको साख अझै बढाएको छ।’

उहाँले शनिबारको उपस्थिति अभूतपूर्व रहेको र यसले आयोगलाई काम गर्न उत्साहित तुल्याएको बताउनुभयो।

आयोगको वर्तमान नेतृत्व आएपछि लामो समयदेखि रोकिएका विभिन्न परीक्षाहरू समयमा नै सम्पन्न गर्न सफल भएको थियो । वर्तमान नेतृत्व आएपछि आयोगले १ सय दिने कार्ययोजना बनाएर त्यसअघि रोकिएका सबै कामहरू सम्पन्न गरेको थियो । आयोगको सक्रियता बढेसँगै आयोगले परीक्षा लिने तथा परिणाम सार्वजनिक गर्ने काम पनि निर्धारित समयभन्दा अगाडिनै गर्दै आइरहेको छ।

आयोगको सक्रियतासँगै लोकसेवा आयोगको परीक्षामा सहभागी हुनेहरूको संख्या ह्वात्तै बढ्न पुगेको हो। आयोगका अनुसार शनिबारको शाखा अधिकृतको प्रवेश परीक्षा सम्पन्न भएसँगै आयोग अब नियमित क्यालेन्डर अनुसारको काममा अघि बढेको छ।

आयोगले शनिबार देशका १४ वटा कार्यालयमा शाखा अधिकृतको प्रवेश परीक्षा सञ्चालन गरेको थियो। जसमध्ये काठमाडौंमा सबैभन्दा बढी १० हजार ८ सय ३४ जना सहभागी भएका थिए।

यसै गरी धनकुटामा १७ सय ४४ जना, जलेश्वरमा १७ सय १८ जना, बुटवलमा १७ सय ३२ र सुर्खेतमा १५ सय ६८ जना सहभागी भएका थिए।