लैङ्गिक हिंसा न्यूनीकरणका लागि दम्पती कार्यक्रम 

168
Shares

उदयपुर  ।

 उदयपुरको सदरमुकाम स्थित त्रियुगा नगरपालिकाले लैंगिकहिंसा अन्त्यकालागि  प्रभावकारी हुने ठानेर दम्पती कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

नगरपालिका भित्रका विभिन्न वडामा विभिन्न प्रकारका हिंसाका घटनाहरु दिनहुँ जसो भइरहने भएकोले त्यस्ता घटना हुन नदिन र रोकथाम गर्नका लागि त्रियुगा नगरपालिकाले महिला तथा बालबालिका शाखा मार्फत लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यका साथ  लैङ्गिक रुपान्तरण गर्न दम्पती कार्यक्रम सञ्चालन गरिएको हो ।

लैङ्गिक समानता कायम गर्न नगरपालिकाले पहिलो पटक यो कार्यक्रम प्रारम्भ गरेको नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख निरु कार्कीले बताइन ।

हिंसा न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्दा महिलालाई मात्र बोलाउने र त्यस विषयमा पुरुष अनविज्ञ रहँदा महिलाहरु थप प्रताडित हुनु परेकाले दुबैलाई भेला पारेर कार्यक्रम गरिएको उनले बताइन् ।

उनले भनिन्, ‘कार्यक्रमको लक्ष्य दम्पतीबीच  एकआपसमा विश्वास, माया, प्रेम, साथ सहयोग निरन्तर भयो भने मात्र सम्बन्ध टिक्छ भन्ने हो तसर्थ यस कार्यक्रमले सम्बन्धलाई अझ प्रगाढ बनाउछ। ‘ दम्पती विचको झैझगडालाई सामान्यरुपमा लिँदा अन्ततः उनीहरु आत्महत्या र सम्बन्ध विच्छे्दको बाटो रोज्नु बाध्य भएकाले सम्बन्धलाई मजवुद बनाउन प्रयास गरिएको उनको भनाई छ ।

कार्यक्रममा वडान. ७ र ८ का २० बर्ष पूरा भई चालीस बर्ष ननाघेका १५ जोडी दम्पतीको सहभागिता रहेको वडानं ८ का कार्यवाहक वडाध्यक्ष रिता खड्काले बताइन् । उनीहरुलाई सहजकर्ताद्धय महेश बस्नेत र सुशीला कार्कीले लिंगका आधारमा अलग–अलग कोठामा समूह विभाजन गरी र अन्तमा एकै ठाउँमा राखेर सहजिकरण गरिएको उनले बताइन् । कार्यबाहक वडाध्यक्ष खड्काले कार्यक्रमले विशेष गरी विश्वास र गोपनीयता, शारीरिक हाउभाउ, लैगिंकता र सामाजिकरण, लैगिंक हिंसा, विवाहका आशा र अपेक्षा दरिलो सम्बन्ध, हेरचाह, बालविवाह रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।