स्पोर्ट्स अवार्डको चार विधाका शीर्ष तीन सार्वजनिक

294
Shares

काठमाडौं । 

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औं संस्करणका लागि मञ्चले शुक्रवार चार विधाका शीर्ष तीन जनाको नाम सार्वजनिक गरेको छ ।

नेपाली खेलकुदको सबैभन्दा प्रतिष्ठित र प्रतिक्षित स्पोर्ट्स अवार्डका लागि मञ्चले शुक्रवार वर्ष खेलाडी पुरुष र महिला, युवा र वर्ष प्रशिक्षकका लागि अन्तिम ३ मा पर्नेहरुको मनोनयन नाम सार्वजनिक गरेको हो । यसअघि घोषणा भएको आठ खेलाडीको प्रारम्भिक मनोनयनबाट शीर्ष तीन जनाको चयन गरिएको हो ।

यसपटक उत्कृष्ट प्रशिक्षकको शीर्ष तीनमा तीनै जना पुरुष परेका छन् । शीर्ष तीनमा क्रिकेटका जगत टमाटा, एथलेटिक्सका चन्द्र गुरुङ र बक्सिङका दीपक महर्जन छन् ।
यसअघि उत्कृष्ट आठको मनोनयनमा फुटबलका अनन्त थापा, क्रिकेटको मोन्टी देसाई, फुटबलकी भगवती रानामगर, भलिबलका भरत शाह र पौडीका ओङ्देन लामा पनि थिए ।

त्यसैगरी उत्कृष्ट पुरुष खेलाडीको शीर्ष तीनमा दुई क्रिकेट र एक एथ्लेटिक्सका खेलाडी परेका छन् । शीर्ष तीनमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र आसिफ शेख र एथलेटिक्सका दीपक अधिकारी छन् । आठ खेलाडीको मनोनयनमा एथ्लेटिक्सका मुकेश पाल, भलिबलका मानबहादुर श्रेष्ठ, पौडीका नासिर याहा हुसेन, बुद्धिचालका रुपेश जैसवाल र गल्फका सुवास तामाङ पनि थिए ।

त्यसैगरी वर्षको उत्कृष्ट खेलाडी महिलामा एथ्लेटिक्सको राजपुरा पछाई र पुष्पा भण्डारीसँगै बास्केटबलकी अनुशा मल्ल छन् । वर्षका उत्कृष्ट खेलाडी युवा खेलाडीमा क्रिकेटका देव खनाल, बक्सिङकी सुष्मा तामाङ र एथ्लेटिक्सकी राममाया बुढा मनोनयनमा छन् । लाइफटाइम अचिभमेन्ट अवार्ड, पारा एथ्लेट सम्मान स्पेशल अवार्ड र एसियन जर्नालिस्ट अवार्ड भने कार्यक्रम समारोहमै घोषणा गरिनेछ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक अनि पिपल्स च्वाइस गरी पाँच विधाका विजेताले पल्सर मोटरबाइक प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार पाउनेछन् ।