चिनियाँ युशुविरुद्ध मनिष डाँगीले कप्तानी गर्ने

238
Shares

काठमाडौं । 

चिनियाँ युवा टोलीविरुद्ध नेपाली टोलीको कप्तानी मनिष डाँगीले गर्ने भएका छन् ।

चिनियाँ नयाँ वर्षको अवसरमा चीनको युशु युवा टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्ने नेपाली युवा टोलीको घोषणा भएको छ । शुक्रबार खेलको अघिल्लो दिन मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले स्टार खेलाडी मनिषलाई कप्तानको जिम्मेवारी दिएको हो ।

सिनियर टोलीको पनि मुख्य प्रशिक्षक रहेका एनेसले शुक्रबार नै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् । एनेसले मनिषसँगै सिनियर टोलीटोलीबाट खेलिसकेका आयुष घलान, उत्सव राई र लाकेन लिम्बुलाई समेट्दै अन्तिम टोली घोषणा गरेका हुन् ।

टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे र गोलकिपर प्रशिक्षकमा मनिष तिम्सिना रहेका छन् । नेपाली युवा टोलीका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना हुन लागेको नेपाल-चीन मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नयाँ खेलाडीलाई अवसर भएको बताएका छन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसले खेलाडी विदेशीएको कुरामा नभई आफूले प्रशिक्षणमा ध्यान दिएको बताएका हुन् । यसैगरी युशु फुटबल क्लबका प्रशिक्षकले नेपाली टोलीसँग खेल्नु आफूहरुका लागि अवसर र सांस्कृतिक आदानप्रदान गर्न खेलले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । मैत्रीपूर्ण खेलका लागि चिनियाँ टोली बुधबार नै काठमाडौं आइपुगिसकेको छ । खेल दशरथ रङ्गशालामा शनिवार दिउँसो ३ बजे सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर साधारणतर्फ ३ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ  निर्धारण गरेको छ । त्यस्तै, एन्फाले टिकट खरिद गर्ने दुई जना भाग्यशाली दर्शकका लागि काठमाडौँ-ल्हासा काठमाडौँको हवाई टिकट समेत प्रदान गरिने जानकारी दिएको छ ।

नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो । प्रतियोगिताको सह आयोजकमा एन्फा र नेपाल ओभरसीज चिनियाँ संघ रहेका छन् । खेलअघिको उद्घघाटन समारोहमा विशेष कार्यक्रम हुनेछन् । त्यस्तै पहिलो हाफको अन्तरालपछि पनि केही प्रस्तुतिहरु समावेश हुने एन्फाले यसअघि नै जानकारी गराइसकेको छ ।

नेपाली युवा टोली:

गोलकिपरः पुजन होना, विशाल सुनार, सन्तोष महत

रक्षकः पदम भट्टराई, अजय चौधरी, एन्जल महर्जन, छिरिङ लामा, योगेश गुरुङ, सुमित श्रेष्ठ, विशाल बस्नेत

मिडफिल्डरः आयुष घलान, प्रशान्त लक्सम, उत्सव राई, लाकेन लिम्बु, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, कुशल देउवा

फरवार्डः समिर तामाङ, सन्जीव विष्ट, निराजन धामी, मनिष डाँगी(कप्तान), आशिक बाबु चौधरी