देशभरि प्रभाव पर्ने गरी निर्णय गर्नुस् : सभापति देउवा

420
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौँको सम्मेलनले ठूलो महत्व राख्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै सभापति देउवाले देशको राजधानी भएकाले यहाँ राम्रो काम गर्नुपर्ने बताए । “काठमाडौँमा कांग्रेसको सङ्गठन महत्वपूर्ण छ, यहाँको सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रभाव पार्छ, देशभरि प्रभाव पार्ने गरी राम्रो प्रस्ताव पास गर्नुहोस्”, उनले भने ।

सभापति देउवाले नेपाली कांग्रेस नेपाली जनताको पार्टी भएकाले सधैँ जनताका पक्षमा निर्णय गर्न निर्देशन दिए । उनले भने, “काठमाडौँ जिल्ला कार्यसमितिमार्फत देशैभरका कांग्रेसका नेता तथा कार्यकर्तालाई यो भन्न चाहन्छु कि कांग्रेस जनताको पार्टी हो, हाम्रा सबै निर्णय र कदम जनताका पक्षमा हुनु जरुरी छ ।”