बलात्कारको बदला लिन अपहरण, महिला पनि थुनामा

1.3k
Shares

धादिङ । 

आफूलाई बलात्कार गर्ने दाजुको छोरो १३ महिने बालकलाई अपहरण गरेर साथीको कोठामा राख्ने बहिलाई प्रहरीले अपहरण तथा शरिरबन्धकमा मुद्दा चलाएको छ भने बलात्कार आरोपित दाजुसमेत २ जनालाई जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ ।

आफूलाई बलात्कार गरेको बदला लिनका लागि बच्चालाई यही माघ २० गते अपहरण गरी  काठमाडौँ रातोपुल नजिकै डेरामा बस्ने तनहुँ जिल्ला भिमाद नगरपालिका वडा नम्बर ८ का  कमल बिक र शारदा क्षेत्रीको कोठामा राखेकी थिइन् । २७ वर्षीय कमल र ३३ वर्षीया शारदा पति–पत्नी हुन् । बच्चालाई माघ २१ गते रातोपुल नजिक बिहानी सडकमा हिँड्ने मानिसले फेला पारी प्रहरीले उद्धार गरी  बालबालिका खोजतलास समन्वय केन्द्रमा राखिएकोमा माघ २३ गते परिवारको जिम्मा लगाइएको थियो ।

बालक अपहरण गर्ने २५ वर्षीया महिलालाई पटक पटक बलात्कार गर्ने ३९ वर्षीय दाजुलाई जिल्ला प्रहरी कार्यालय धादिङले ०८० माघ २२ गते गिरफ्तार गरी  हिरासतमा लिएको छ ।

पटक पटक बलात्कार गर्दै आएका दाजुले बहिनीमाथि ज्यादती गरेपछि घटना सार्वजनिक भएको र पीडितको उजुरीका आधारमा उनलाई गिरफ्तार गरी  हाडनाता जबरजस्ती करणी अभियोगमा जिल्ला अदालतको माघ २२ गतेको आदेशले हिरासतमा राखिएको र अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

दाजुले घरमा बलात्कार गर्ने गरेको र पछिल्लो पटक ०८० असार ३ गते बलात्कार गरेको भन्दै पीडितले उजुरी माघ २१ गते दिएकी थिइन् ।
उजुरीपछि माघ २२ गते धादिङ अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो।

घटनाबारे जानकारी पाएपछि सोही पीडितलाई ब्ल्याकमेलिङ गरी  बलात्कार गरेको आरोपमा थाक्रे गाउँपालिका–४ का ३९ वर्षीय देवेन्द्र कुमार थापा मगरलाई माघ २२ गते ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । थापामगरलाई प्रहरीले माघ २१ गते गिरफ्तार गरेको थियो ।

बलात्कारका कारण बालिकाको गर्भ बसेको र एक महिना अघि बच्चा जन्मेर बच्चाको मृत्यु भएको थियो । यसपछि आफूले सहन नसकेर घटना बाहिर ल्याएको पीडितले बताएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय धादिङमा जबरजस्ती करणी उद्योगमा २ र जबरजस्ती करणीका २ घटना दर्ता भई अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक जैसवारले बताए ।