वालिङमा ‘एक घर–एक धारा’ जडान

126
Shares

स्याङ्जा ।

खानेपानीको समस्या भएको स्याङ्जाको वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङ क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । यहाँका १ सय ४२ घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको छ ।

गाउँभन्दा धेरै टाढाबाट यसअघि ल्याइएको खानेपानीमा समस्या आएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँमा खानेपानी पु¥याइएको हो । बोधिभञ्ज्याङ मूल संरक्षण तथा खानेपानी आयोजनाअन्तर्गत आँधीखोलाको किनारमा रहेको मुलबाट पानी तानेर गाउँमा वितरण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका सबइञ्जिनियर वसन्तकुमार सुवेदीले बताउनुभयो ।

आव २०७६–७७ देखि सुरु भएको उक्त योजना हालैमात्र सम्पन्न भई सञ्चालनमा आएको हो । २ करोड १५ लाख ५६ हजार लागत अनुमान रहेको उक्त योजना गण्डकी प्रदेश सरकार र स्थानीयको जनश्रमदान गरी १ करोड ३७ लाख २५ हजारमा सम्पन्न भएको छ ।

वालिङ–१३ को झलुङगेस्थित आँधीखोलाको किनारबाट विद्युतको प्रयोग गरी पानी तानेर वितरण गरिएको उपभोक्ता समितिका सचिव ध्रुव गौडेलले बताउनुभयो ।

“लामो दूरीबाट ल्याइएको पानीमा पटकपटक समस्या आएपछि नयाँ योजनाको खोजीमा थियौँ”, उहाँले भन्नुभयो, “आँधीखोलाको किनारमा रहेको मुल नजिकै ट्याङकी निर्माण ग¥यौँ त्यहाँबाट गाउँभन्दा माथि रहेको खरबारीमा एक लाख लिटर क्षमताको पानी संकलन ट्याङकी निर्माण गरी त्यसैबाट गाउँका घरघरमा वितरण गरेका छौँ ।”

झलुङगे, बोधिभञ्ज्याङ, पीपलछापका प्रत्येक घरघरमा पाइपमार्फत पानी पु¥याइएको छ । उक्त ठाउँमा रहेका विद्यालय, प्रहरीचौकी, वडा कार्यालय, समाज भवन, सार्वजनिकस्थलमा समेत धारा जडान गरिएको छ । प्रत्येक घरमा २४सैँ घण्टा पानी खोल्ने गरिएको छ । घरघरमै पानी सहजरुपमा आएसँगै खोल्साखोल्सी, कुवामा पानी लिन जानुपर्ने बाध्यताको अन्त्य भएको छ । टाढाबाट पानी बोकेर खानुपर्ने अवस्थाको अन्त्य भएपछि स्थानीय खुसी छन् ।

दैनिक पानी खोल्न, बन्द गर्न तथा मर्मतसम्भारका लागि एक जना कर्मचारी राखिएको सचिव गौडेलले बताउनुभयो । खानेपानी आयोजनाले पानी तान्नका लागि मासिकरुपमा चार हजार पाँच सयदेखि छ हजार पाँच सयसम्म विद्युत् महसुल बुझाउँदै आएको छ ।

गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले लिफ्ट खानेपानीमा प्रयोग हुँदै आएको विद्युतमा अनुदान दिने नीति ल्याएकाले विद्युत् महसुलको अनुदान प्राप्तिका लागि प्रक्रिया अगाडि बढाएको सचिव गौडेलले बताउनुभयो ।