जिन्दगीको वास्तविकता के हो ?



एउटा छोटो कथा छ । एक जना राजा थिए । उनले अर्को देशमा आक्रमण गर्ने भनेर तयारी गरे । रातभरि उनले ‘यदि म मरिगएँ भने स्वर्गमा जान्छु कि नर्कमा जान्छु’ भनेर सोचिरहे । यसरी सोच्दासोच्दै उनको मनमा ‘स्वर्ग भनेको के हो र नर्क भनेको के हो’ भन्ने विचार उत्पन्न भयो।

‘स्वर्ग जानेछु कि नर्क जानेछु !’ यो त एक किसिमको जिज्ञासा भए पनि ‘स्वर्ग कस्तो हुन्छ ! अनि, नर्क कस्तो हुन्छ’ भन्ने अर्को प्रकृतिको प्रश्न हो।

तिमी स्वर्ग जान्छौ या नर्क जान्छौ भनिदिन त सजिलै हुन्छ । तथापि, यस कुरालाई बुझ्न एकदमै गाह्रो छ । राजालाई त यसका बारेमा बुझ्नुपर्छ भन्ने नै थियो।

भोलिपल्ट उनी एकाबिहानै तयार भए । उनले कवच लगाए । तरबार भिरे । घोडामा बसे । त्यसपछि आफ्नो विचारको नदीमा बग्दै त्यहाँबाट हिँडे । बाटामा उनले एक जना सन्तलाई हिँडिरहेको देखे । उनले आफ्नो घोडालाई उनी भएतिर मोडे र उनको नजिकमा पुगे ।

राजाले सोधे, ‘मलाई यो स्वर्ग के हो र नर्क के हो भनेर बताइदिनुहोस् न !’ सन्तले भने, ‘हजुर, अहिले मलाई फुर्सद छैन । म अहिले निकै टाढासम्मको यात्रामा निस्केको छु ।’

राजा क्रोधित भए । चिच्याउँदै भन्न थाले, ‘तिमीलाई म को हुँ भन्ने कुरा थाहा छैन ? म यहाँको राजा हुँ । तिमीले मलाई फुर्सद छैन भनेर तर्किने हिम्मतै कसरी ग¥यौ ? राजा एकदमै धेरै रिसाए ।

त्यसपश्चात् सन्तले उनीतिर फर्केर भन्छन्, ‘राजन, यतिखेर तपाईं नर्कमा हुनुहुन्छ ।’ राजाले पनि सोचे, कुरा त सही हो। म त निकै क्रोधित भएको छु। म रिसले चुर भएको छु। साँच्चै म त नर्कमा छु। उनी घोडाबाट ओर्लिएर सन्तसँग भन्न थाले, ‘मबाट एकदमै ठूलो भुल भयो। हजुरले भन्नुभएको कुरा वास्तवमा नै सत्य हो । हजुरले त मेरो आँखा खोलिदिनुभयो। म कसरी हजुरसमक्ष आफ्नो आभारलाई प्रकट गर्न सक्छु ?

सन्तले फेरि राजातिर फर्केर भने, ‘राजन, यतिखेर तपाईं स्वर्गमा हुनुहुन्छ ।’

लम्बेतान कुरै छैन । छोटो कथा छ तर कुनै शिष्यले यस कथाबाट ‘कसरी धेरैभन्दा धेरै सिक्न सकिन्छ’ भन्ने शिक्षा लिनुपर्दछ ।
कोहीले कुनै चिजलाई दोषारोपण गरिरहेको छ त कसैले कुनै अर्को कुरामाथि । कसैको ध्यान कुनै कुरामा छ अनि कसैले केही अरू कुराप्रति आफ्नो ध्यानलाई मोडिरहेको हुन्छ।

वास्तवमा हामीलाई सबैभन्दा बढी आवश्यक पर्ने महत्वपूर्ण चीजलाई त्यसकै आवश्यकता परेका समयमा बिर्सन पुग्छौँ । रिस उठे पनि एउटा याद गर्नुपर्ने कुरा हुन्छ । क्रोधित हुनुपर्ने आवश्यकता छैन । रिसाएर कुनै पनि समस्याको समाधान हुने होइन तर यही कुरालाई बिर्सन्छौँ । निकै मै हुँ, मै हुँ भन्नेहरूमा पनि यस्तो हुन्छ ।

जिज्ञासाको आवश्यकता परेका बेला जिज्ञासालाई नै बिर्सन पुग्छौँ । नम्र हुनुपर्ने समयमा नम्रतालाई नै बिर्सन पुग्छौँ । प्रेम गर्नुपर्ने समयमा त्यही प्रेमलाई बिर्सन पुग्छौँ । भक्तिको आवश्यकता परेका समयमा भक्तिलाई नै बिर्सन पुग्छौँ । आभार प्रकट गर्नुपर्ने समयमा हामीले आभारलाई नै बिर्सिएका हुन्छौँ।

सन्त–महात्माहरूले के भनेका छन् भने जुन कुरालाई तपाईंले स्थायी ठान्नुभएको छ नि त्यो न कहिल्यै स्थायी थियो न त स्थायी रहने नै छ ।
बिच–बिचमा फलाम जडेर कागजको डुङ्गा बनेको छ,
यो संसार कागजको डुङ्गा हो, थोपा परेमा घुलेर जानेछ ।
यहाँ सधैँ रहनु छैन, यो ठाउँ बिरानो छ ।

यो त हुनेछ । तर, यी सबै कुरा भएर पनि तपाईंले दुःखी हुनु आवश्यक छैन । यसर्थ तपाईं दुःखी हुनु नपरोस् भनेर नै यहाँ बसिरहनुभएको हो । हामी सबैले एक न एक दिन यो संसारबाट बिदा लिनुपर्नेछ । कुरा यो संसारबाट जानुपर्छ भन्नेबारेमा होइन । कुरा त हामी जीवित रहेसम्म ती सृष्टिकर्ताको हिस्सा हौँ भन्नेबारेमा हो।

यसर्थ हामीले यस कुरालाई बुझ्नुपर्छ र पहिचान गर्नुपर्छ । आफूले आफूलाई चिन्नुहोस् । हामी को हौँ ? के हौँ ? वास्तविक चमत्कार के हो ? अहिले तपाईंले देखिरहनुभएको कुरा वास्तविक चमत्कार होइन । वास्तविक चमत्कार केही फरक खालको छ । वास्तविक चमत्कार त तपाईंमा यो श्वास आइरहेको छ र गइरहेको छ । यो श्वासको आवागमन नै ती सृष्टिकर्ताको कृपा हो र यही कुरा जिन्दगीको वास्तविकता हो ।

तपाईंलाई तिर्खा लाग्यो भने त्यसको सम्बन्ध केवल पानीसँग मात्रैै हुन्छ । त्यो पानी नदीबाट पाइए पनि, माटाको गाग्रोमा पाइए पनि कुरा उही हो । तथापि, हामीले माटाको भाँडामा पानी भए पनि या नभए पनि ‘मलाई माटाको भाँडाकै पानी चाहिएको छ’ भन्न थाल्यौँ भने तिर्खाले मर्नुपर्ने पनि हुन सक्छ । वास्तवमा हामीले सत्यलाई खोज्ने हो किनभने त्यसले हाम्रो हृदयमा रहेको शान्तिलाई जागृत तुल्याओस् । हृदय मानिसको साहस रहने स्थान हो । हृदय मानिसको स्पष्टता रहने स्थान हो । हृदयमा दया बसेको हुन्छ । त्यो हृदयभित्र शान्ति पनि छ । बाह्य रूपमा नभएर आन्तरिक रूपमा त्यो शान्तिको स्रोत हो ।

तपाईं आफूभित्रको चिजलाई प्राप्त गर्न चाहनुहुन्छ । तथापि, तपाईं आफूले आफूलाई चिन्नुहुन्न । यही कारण तपाईंले आफूमा आत्मविश्वास नै नभएको महसुस गर्नुहुन्छ । तपाईंले आफूले आफूलाई चिन्न थालेपछि तपाईंमा आत्मविश्वास पनि बढ्नेछ।

बुझ्नुपर्ने कुरा त के हो भने तपाईंले खोजिरहनुभएको चिज तपाईंभन्दा टाढा छैन । त्यो तपाईंभित्र छ । आजसम्म तपाईंले हरेक चिजलाई बाहिर खोज्नुभयो। तपाईंमा प्रेमको आवश्यकता हुँदा पनि तपाईंले त्यो प्रेमलाई आफूभित्र खोज्नुभएन। आफूभन्दा बाहिर खोज्नुभयो । तपाईंलाई कुनै चीजको आवश्यकता परेका बेला पनि तपाईंले त्यस चिजलाई आफूभन्दा बाहिरै खोज्नुभयो तर आफूभित्र खोज्नुभएन । सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा त के हो भने तपाईंले खोजिरहनुभएको चीज तपाईंभित्रै छ । पहिला पनि थियो, आज पनि भित्र छ र तपाईंभित्र सधैँ रहनेछ ।

मानिसहरूको बुझाइमा त शान्तिलाई पाउन सबै कुरा छोड्नुपर्छ भन्ने छ तर यो कुरा सत्य होइन । तपाईं यो संसारमा, यो समाजमा रहेर पनि शान्तिको अनुभूति गर्न सक्नुहुन्छ । यो शान्तिलाई त लडाइँको मैदानमा समेत अनुभव गर्न सक्नुहुन्छ । यो वास्तविक स्वतन्त्रता हो किनभने यस्तो स्वतन्त्रतालाई कारागारभित्र रहेको व्यक्तिले पनि अनुभव गर्न सक्छ।

यो केवल कुरामात्रै होइन । किनभने, धेरै मानिसहरूले युद्धको मैदानमा रहँदा पनि शान्तिको अनुभव गरेका छन् । यदि, मानिसलाई शान्ति चाहिन्छ र मानिसले आफ्नो जीवनलाई स्वर्ग बनाउन चाहन्छ भने उसलाई एउटा त्यस्तो माध्यमको आवश्यकता पर्दछ । त्यो माध्यममा जोडिएपछि मानिसको जीवनमा शान्ति प्राप्त गर्न सहज हुन्छ ।

तीनओटा चराहरूका बारेमा एउटा कथा छ । एउटा चराको जन्म पिँजडामा भयो अनि उसलाई पिँजडाभित्रै राखेर पालनपोषण गरिएको छ । पिँजडाभित्रै उसलाई खाने कुरा दिइएको छ । पिँजडामा नै उसको पूरा जीवन व्यतीत भएको छ । उसले कहिल्यै पनि स्वतन्त्रता के हो भनेर महसुस गरेकै छैन।

आफ्नो पखेटालाई फट्फटाउन, हावामा उड्न या त यस्ता कार्यहरू गर्न उसले जानेको छैन । उसँग पखेटा छ तर त्यो पखेटाको प्रयोजनलाई उसले बिर्सेको छ । किनभने, उसको जन्म पिँजडामै भएको थियो । पिँजडैमा उसको पालनपोषण भयो अनि एक दिन पिँजडामा रहँदारहँदै उसले जानुपर्ने हुन्छ ।

एउटा अर्को चरो छ । ऊ एक समयमा स्वतन्त्र थियो । उसले उडान भथ्र्यो । उसको जन्म पिँजडामा भएको पनि होइन । ऊ उडेको छ । उसले देखेको छ । आनन्दमा रमेको छ । हरेक दिन ऊ खानाका लागि बाहिर निस्कन्थ्यो । ऊ हावामै खेल्थ्यो तर एकदिन उसलाई सिकारीले समातेर पिँजडामा हालिदियो।

शुरूशुरूमा त उसले आफ्नो पखेटालाई जोड–जोडले फट्फटायो । तर, अब बिस्तारै–बिस्तारै समय बित्दै गएपछि उसले पहिलाको जसरी पखेटालाई फटफटाउन छोडेको छ। अहिले उसको पालनपोषण पनि त्यसरी (पहिलो चराको जसरी) पिँजडाभित्रै भइरहेको छ । ऊ त्यहीँ नै रहन्छ अनि अब स्वतन्त्र हुनका लागि उसले कोसिस गर्न पनि छोडिसकेको छ ।

अर्को तेस्रो चरो छ । ऊ दोस्रो चरोजस्तै छ । उसको जन्म पनि स्वतन्त्र अवस्थामा नै भयो । कुनै कारणवस ऊ पनि समातियो र अहिले ऊ पिँजडामा छ । समय बितिरहेको छ, बितिरहेको छ तर उसले अहिले पनि हार मानेको छैन । चाहे जतिसुकै दिन बितेका होऊन् तर उसले हार मानेको छैन । हरेक दिन बिहानदेखि साँझसम्म ऊ पिँजडाबाट निस्कने प्रयत्न गरिरहेको छ ।

कुरा के छ भने पहिलो चरोलाई यदि ढोका खोलिदियौँ भने पनि ऊ बाहिर निस्कँदैन । किनकि, उसलाई बाहिर के हुन्छ भन्ने कुरै थाहा छैन । उसका लागि त पिँजडा नै उसको घर हो। पिँजडा नै उसका लागि सबैथोक हो।

दोस्रो चरो, एक समयमा त यदि ढोका खोलिदिएको भए ऊ उडेर जाने थियो। तर, अब उसले पनि हार मानिसकेको छ। यदि, अब ऊ बाहिर निस्किहाल्यो भने पनि उसले त हार मानिसकेको छ । त्यसकारण ऊ फर्केर फेरि पिँजडामा नै जानेछ।

तेस्रो चराका लागि त ढोका खोल्नासाथ ऊ रोकिनेवालै छैन ! किनकि, ऊ त यसैका लागि बाँचेको थियो– ‘कहिले ढोका खुल्छ अनि म यहाँबाट कहिले निस्कन पाउनेछु !’ किनभने, उसले त्यो स्वतन्त्रतालाई बिर्सेको छैन र बिर्सन पनि चाहँदैन ।

यो जीवन, यो समय सृष्टिकर्ताको कृपाका कारण प्राप्त भएको छ । यो पिँजडाको समस्या त सबै ठाउँमा छ । यदि, कोही भित्रैबाट स्वतन्त्र छैन भने बाहिरी स्वतन्त्रताले के हुन्छ र ? तपाईंले सोच्नुभएको बाहिरको स्वतन्त्रता पनि वास्तविक स्वतन्त्रता होइन । बाहिर त तपाईं प्रकृतिको दास हुनुहुन्छ । प्रकृतिले, समयले तपाईंलाई बाँधेर राखेको छ । तपाईं आपूmले आपूmलाई स्वतन्त्र सम्झनुहुन्छ तर तपाईं स्वतन्त्र हुनुहुन्न ।

यदि तपाईं वास्तविक स्वतन्त्रता चाहनुहुन्छ भने त्यो अर्को जेलबाट बाहिर निस्कनुहोस्। त्यो भ्रमको जेल हो, त्यो अन्धकाररूपी जेल हो । त्यो जेलबाट निस्कनुहोस्।

त्यो जेलमा रहेसम्म तपाईंले देख्नै सक्नुहुन्न। अनि, तपाईंले यी आँखालाई खोलेर ‘म मानिस हँु अनि म भाग्यशाली छु किनकि मलाई यो जीवन प्राप्त भएको छ’ भनेर हेर्न शुरू गर्नुहुन्छ ।

त्यसपछि तपाईंले आफूलाई कि त ती बितिसकेका चिजहरूसँग तुलना गर्नुहुन्छ कि त तपाईं जे गर्न चाहनुहुन्छ त्यस कुरासँग तुलना गर्न थाल्नुहुन्छ।

(यो लेख डा. प्रेमराज ढुङ्गेलले प्रेम रावतको सन्देशबाट साभार गर्नुभएको हो । )

प्रतिक्रिया दिनुहोस्