मानसिक अस्पतालमा शुरू भयो किशोर किशोरी मानसिक स्वास्थ्य सेवा

1.5k
Shares

ललितपुर ।

ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालले आफ्नो स्थापनाको ४० वर्षमा किशोरकिशोरी मानसिक स्वास्थ्य सेवा शुरू गरेको छ।

सिविन नेपाल तथा फोरट नर्वेसँगको सहकार्यमा मानसिक अस्पतालमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभएको हो।

उहाँले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरूमा मानसिक रोगको समस्या बढ्दै गइरहेको जिकिर गर्दै भन्नुभयो– ‘नेपालमा सयमा १० जना मानसिक रोगी फेला पर्न थालेको छ। बच्चाहरूमा पनि त्यस्तै अवस्था शुरू भएको छ। यही सन्दर्भमा ३७ वर्ष पहिलादेखि बालबालिकाको हक अधिकारका लागि लड्दै आएको सीभी नेपालले पाटन मानसिक अस्पतालसँग सहकार्य गरेर अरू सहभागीहरूलाई जुटाएर जुन किसिमले किशोर किशोरीहरूलाई मानसिक रोगको उपचार गर्ने युनिट स्थापना भएको छ, त्यसको प्रशंसा गरेर मात्रै पुग्दैन। यो सेवालाई प्रदेशमा पनि बिस्तार गर्न सरकारले भूमिका निर्वाह गर्नुपर्छ।’

उहाँले सेवा बिस्तारका लागि मन्त्रालयको तर्फबाट सबै सहयोग गर्न आफू तयार रहेको जिकिर गर्दै भन्नुभयो–‘सबैसँग सल्लाह र सहकार्य गरेर सेवा बिस्तारका लागि अघि बढ्न मन्त्रालय तयार छ। मानसिक रोग संसारभर व्यापक रूपमा बढेको छ । नेपालमा त झन् कुरा गरी साध्य छैन। मानसिक रोगी किन बढिरहेका छन् भन्ने कुरा अध्ययन गर्न जरुरी छ । आवश्यक परे कानुन पनि बनाउन जरुरी छ। अहिले संसद्मा कानुन बनाउने पनि बेला भयो । यसमा कानुन नै बनाएर व्यवस्थित गर्न सहयोग गर्न हामी तयार छौँ।’