लालपुर्जा र जग्गा धनी दर्ता श्रेस्ता छाप्दै जनक शिक्षा

नेपाली कागजको साटो म्यापलिथोमा छापिने

252
Shares

काठमाडौं ।

सरकारले लालपुर्जा र जग्गा धनी श्रेस्ता पहिलोपटक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई छपाइ गर्न दिएको छ।

भूमि व्यवस्था तथा अभिलेख र जनक शिक्षा सामग्रीबीच मंगलबार सम्झौता भएपछि जनक शिक्षाले २४ लाख थान जग्गा धनी दर्ता श्रेस्ता र २८ लाख थान जग्गा धनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) छपाइ गर्ने भएको हो।

यसअघि यी दुई महत्वपूर्ण कागजात निजी छापाखानाले मात्र छाप्ने गरेको थियो। विभागका महानिर्देशक विदुरप्रसाद खनाल र जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाद्वारा हस्ताक्षरित सम्झौतापत्रअनुसार जग्गाधनी दर्ता श्रेस्ताको भ्याटबाहेक प्रतिथान २ रुपियाँ ६५ पैसा र लालपुर्जा प्रतिथान भ्याटबाहेक २ रुपियाँ ४५ पैसा पर्नेछ।

विभागका निर्देशक एवं प्रवक्ता वेदप्रसाद अर्यालले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार सरकार र सरकारबीच अर्थात् जीटूजी प्रक्रियाबाट जनक शिक्षालाई लालापुर्जा र श्रेस्ता छपाइ जिम्मा दिइएको हो।

विभागले १ महिनाभित्र ५–५ लाख थान श्रेस्ता र लालपुर्जा छपाइ गरेर दिनेगरी सम्झौता भएको छ। भोली संकट पर्दा वा अन्य कुनै समस्या परेमा जुनसुकैबेला श्रेस्ता र लालपुर्जा छपाइ गर्न सकिने र जीटूजी माध्यमबाट सरकारी निकायलाई काम दिँदा कुनै कानुनी अड्चन नपर्ने भएकोले जनक शिक्षासँग सम्झौता गरेका जिकिर गर्दै प्रवक्ता अर्यालले भन्नुभयो– ‘हामीले गुणस्तरमा कुनै पनि सम्झौता गर्दैनौँ, सबै पक्षको परीक्षण गरेर सम्झौता गरेका हौं।’

जनक शिक्षाका प्रबन्ध सञ्चालक झाले असार मसान्तभित्र काम सम्पन्न गर्नेगरी सम्झौता भएको जानकारी दिँदै भन्नुभयो– ‘हामीले तोकेको समयमा श्रेस्ता र लालपुर्जा छपाइ गरी विभागलाई बुझाउनेछौं।’ उहाँले सम्झौताअनुसार ५ महिनाभित्र सबै काम सम्पन्न गरी हस्तान्तरण गरिने बताउनुभयो।

उहाँका अनुसार सम्झौताअनुसार कागज खरिद गर्ने र काम शुरू गर्ने प्रक्रिया अघि बढिसकेको छ। पहिलो चरणमा काम सम्पन्न गरेपछि दोस्रो चरणको छपाइ गर्ने विषयमा छलफल गर्ने दुवै पक्षको भनाइ छ।

यसअघि नेपाली कागज छपाइ गर्ने गरेकोमा अब आउने लालपुर्जा र श्रेस्ता म्यापलिथोमा छपाइ गर्ने निर्णय भएको जानकारी दिँदै प्रवक्ता अर्यालले भन्नुभयो –‘विगतमा लोक्ताको नेपाली कागज बढी टिकाउ हुन्थ्यो, हाल बाबियोबाट नेपाली कागज बन्न थालेपछि उक्त कागज कम टिकाउ हुने भएकोले म्याप लिथो कागजमा छपाइ गर्न दिएका हौं ।’

उहाँले म्याप लिथो कागजमा छापिने श्रेस्ता र लालपुर्जा बढी टिकाउ हुने दाबी गर्नुभयो। यसअघि हुलाक टिकट छपाइ गरेर सरकारको स्याबासी पाएको जनक शिक्षाले पहिलोपटक लालपुर्जा र श्रेस्ता छपाइ गर्ने जिम्मेवारी पाएको हो।

जनक शिक्षाले कक्षा १० को प्रश्नपत्र र उत्तरपुस्तिका, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) प्रश्नपत्र उत्तरपुस्तिका, मतपत्रलगायतका महत्वपूर्ण छपाइका काम गरिरहेको छ।