सुन तस्करी प्रकरण : कृष्णबहादुर महरा र भीमकान्त भण्डारीसँग बयान

154
Shares

काठमाडौं ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा र विधि ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बिहीबार बयान लिएको छ।

आयोगका अध्यक्ष डिल्लीराज आचार्यका अनुसार सिंहदरबारस्थित आयोगको कार्यालयमै बोलाएर महरालाई डेढ घण्टा बयान लिइएको थियो भने भण्डारीलाई पनि कार्यालयमै बोलाएर बयान लिइएको थियो।

आयोगका पदाधिकारीहरूले महरासँग इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी भएको घटनामा उहाँको संलग्नताबारे प्रश्न गरेका थिए।

त्यस्तै, ६० किलो सुन तस्करी प्रकरणमा मुछिएका भण्डारीलाई सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको विषयमा सोधनी भएको बताइएको छ।

सीआईबीले महराको बयान कागज गराएर उहाँलाई प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

उहाँले यसअघि सीआईबीका अनुसन्धान अधिकृतहरूसँग चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ बताउनुभएको थियो ।

चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको महराले सार्वजनिक रूपमा नै स्विकार्दै आउनुभएको छ।

वि.सं. २०७९ पुस १० मा फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक लि हासोङ्गले दुईवटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७ सय ३० थान इलेक्ट्रिक सिगरेट (भेप) मा सुन लुकाएर ल्याएका थिए।

भेपमा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा नाम जोडिएका भण्डारीसँग यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि सोधपुछ गरेको थियो ।