क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित



काठमाडौं ।

अन्तिम ७ विकेट ४३ रन दिएर लिएपछि नेपालले जिततिर अग्रसर भएको क्यानडालाई ७ रनले हराएको छ।

क्यानडाले ३३औं ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ७४ रन बनाएको थियो। २ सय २५ रनको लक्ष्यमा पुग्न पाहुना टोलीलाई मात्र ५१ रनको आवश्यक छ र उनीहरूसँग ७ विकेट सुरक्षित नै थियो। तर, नेपाली बलरले विकेट लिन शुरु गरेपछि क्यानडालाई २ सय १७ रनमा अलआउट गरेर नेपाललाई रोमाञ्चक जित दिलाए।

यो जितसँगै ३ खेलको एकदिवसीय क्रिकेट सिरिजमा घरेलु टोली नेपालले १–० को अग्रता पनि बनायो। दोस्रो खेल शनिबार हुनेछ।

३८औं ओभरमा श्रेयस मोभा १ रन जोड्दै रोहितको बलमा क्याच आउट भए। ४१औं ओभरमा पवन सर्राफले किर्तनलाई बोल्ड गरेपछि नेपालले खेलमा फर्कने सम्भावना जगाएको थियो। किर्तनले ९९ बलमा ७ चौकासहित ६८ रन जोडे । ४४औं ओभरमा उदय भगवान रोहितको बलमा बोल्ड भए।

त्यसपछि कप्तान साद बिन जफर ललित नारायण राजवंशीको एलबीडब्लू धरापमा पर्दा क्यानडा २०७–८ को स्थितिमा पुगेको थियो । ४७औं ओभरमा ललितले हेलिगरलाई ३ रनमा एल्बीडब्लु आउट गर्दै जितनजिक पुर्‍याए।

रोहितले ४८औं ओभरको पाँचौं बलमा ईश्वरजोत सोहिलाई बोल्ड गरेपछि नेपालले जित पक्का गरे। नेपालका लागि कप्तान रोहितले ४ विकेट लिंदा ललित राजवंशीले २ तथा सोमपाल कामी, रिजन, पवन र कुशल मल्लले १–१ विकेट लिए ।

नेपालले प्रस्तुत गरेको २ सय २५ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाले सुरुवाती ६ ओभरमा २ विकेट गुमाएको थियो। डेब्यु गरेका बलर रिजन ढकालले नवनित धलिवललाई तेस्रो ओभरमा स्लिपमा क्याच गराए।

उनले ६ रन जोडेका थिए। छैटौं ओभरमा सोमपालले आरोन जोन्सनलाई एलबीडब्लु धरापमा पारे । उनले २० रन बनाएका थिए।

यसपछि तेस्रो विकेटका लागि निकोलस किर्तन र पर्गत सिंहले ७९ रनको साझेदारी गरे। २० औं ओभरमा पर्गतलाई आउट गरेर रोहितले यो साझेदारी तोडेका थिए।

किर्तनले हर्ष ठाकरसँग बलियो साझेदारी निर्माण गर्दै जितको आधार तय गरे। ठाकरले ३३औं ओभरमा कुशल मल्लको बलमा बोल्ड हुनुअघि ६० रनको साझेदारी गरे । उनले ३२ रनको योगदान दिए।

नेपालको ब्याटिङ

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा २ सय २४ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए। उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गरेका थिए। यसपछि आरिफ शेखले सर्वाधिक ३८ रनको योगदान गरे।

पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेपछि ओपनर आशिफ ८ रनमा आउट भए। रोहित पनि ८ रनमै पभेलियन फर्के । यसपघि कुशल पनि टिक्न सकेनन् । भीम सार्की पनि १७ रनमै सीमित भए।

कुशल मल्लले २० रन मात्रै बनाउन सके। सोमपाल २० रन बनाएर आउट भए । अन्यमा रिजन ४ रन र ललित १ रनमा आउट भए भने सूर्य तामाङ १० रनमा नटआउट रहे । सूर्यको पनि यो डेब्यु खेल हो।

प्रतिक्रिया दिनुहोस्