महादेवस्थानको सोवर्ण पार्टी गुठीको जग्गा व्यक्तिका नाममा

5.6k
Shares

२०४५ जेठ १७ गते मालपोत कार्यालय काभ्रेपलाञ्चोकले मोठमा गुठी नै कायम गरेर व्यक्तिका नाममा पुर्जा बनाई दिएको छ । 

काभ्रेपलाञ्चोक। 

१९९० साल अघि स्थानीय सापकोटा परिवारका सदस्यहरुले बाटो हिँड्ने बटुवा तथा आश्रय लिन आउने व्यक्तिहरूलाई खानेपानी खुवाउने उद्देश्यले दान गरी गुठीमा राखेको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको खुलासा भएको छ । महादेवस्थान पञ्चायत वडा नम्बर ८ स्थित महादेवस्थानमा रहेको तिन कित्ता जग्गा हेलमानका छोरा गोपीलाल श्रेष्ठलाई मोही कायम गरी जग्गा दर्ता गरिएको थियो । हाल मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ को कुन्ता बजारमा रहेको उक्त  जग्गा गुठीकै नाममा मोठमा कायम छ ।

सापकोटा परिवारले स्थानीय हेलमान श्रेष्ठलाई पाटि बनाउने र सोही पाटिमा बसेर पानी खुवाए बापत त्यतिबेला ४ रोपनी ५ आना १ पैसा ३ दाम जग्गा गुठीका नाममा राखिदिएका थिए । ९० वर्ष पछि गुठीको जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलासा भएको हो । हेलमानले जग्गा कमाउँदै त्यसबाट प्राप्त भएको आम्दानीबाट हरेक दिन पाटिमा बसेर पानी खुवाउने जिम्मेवारी पाएका थिए । हेलमानले जग्गा नपाउने भनिए पनि तत्कालीन अवस्थामा जग्गा कमाई गरे बापत मोही लाग्ने गरेको थियो । मोही लाग्दा पनि आधा मात्रै जग्गा व्यक्तिका नाममा दर्ता हुनु पर्नेमा सोवर्ण गुठीको उक्त जग्गा सबै व्यक्तिका नाममा दर्ता गरिएको खुलासा भएको छ ।

कित्ता नम्बर ३ सय ९३ मा रहेको २ रोपनी ७ आना, ३ सय ९४ मा कित्ता नम्वरको १० आना २ पैसा र कित्ता नम्बर ४ सयको १ रोपनी ३ आना ३ पैसा ३ दाम गरी ४ रोपनी ५ आना १ पैसा ३ दाम रहेको छ । हेलमानको परिवारले मोही बापत आधा जमिन व्यक्तिका नाममा दर्ता गर्न पाउने कानुनी व्यवस्था थियो । हेलमानको निधन भएपछि उनका छोरा गोपीलालले मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा दिएको निवेदनका आधारमा सबै जग्गा मोहीकै नाममा दर्ता गरिएको  देखिएको छ ।
मालपोत कार्यालय काभ्रेपलाञ्चोक, तत्कालीन गाउँ पञ्चायतका पदाधिकारीहरु तथा स्थानीय केहि व्यक्तिहरूको मिलेमतोमा गुठीको सबै जग्गा व्यक्ति अर्थात् मोहीका नाममा दर्ता गर्ने षडयन्त्र गरिएको देखिएको छ । मालपोत कार्यालयको अभिलेखमा आर्थिक वर्ष २०४४-२०४५ को दर्ता नम्बर ५२२ मा २०४५ साल जेठ १७ गतेको मालपोत कार्यालयको निर्णय बमोजिम यसमा लेखिएको जग्गा पुरै उनको श्रीमती खमायाका नाममा नामसारी भई गएको भन्ने उल्लेख गरिएको छ । हेलमानका छोरा गोपीलालले सबै जग्गा खमायाका नाममा ल्याएर गुठीको मोही हटाएको अभिलेखबाट देखिन्छ ।

हेलमान पछिका पुस्ताका परिवारले भूकम्प जानु अघिसम्म पानी खुवाउने गरेका थिए । त्यहाँ निर्माण भएको पार्टी भत्किएको थियो । तीन पटकसम्म उनीहरूले नै बनाएका हुन् । २०७२ साल पछि उनीहरूले त्यहाँ बसेर पानी पनि खुवाउन छाडेका थिए । प्रविधि, नागरिकहरुको ब्यवस्तता र सुगमताले घर घरमा पानी, पानी पनि बोतल र फ्रिजमा आउन थाले पछि त्यहाँ गएर पानी खाने व्यक्तिहरूको संख्या कम हुँदै गयो । पुनः पार्टी भत्कियो पुनर्निर्माण हुन सकेन । जनप्रतिनिधि तथा स्थानीयहरुले पुन पार्टी निर्माणका लागि हेलमानको परिवारलाई अनुरोध गरे । तर उनीहरूले आनाकानी गरिरहे । पछि त ब्यक्तिगत जग्गामा किन सार्वजनिक पार्टी बनाउने ? भन्दै कड्किन थाले । वास्तविकता खोज्दै जाँदा पत्ता लाग्यो सार्वजनिक गुठीको जग्गा व्यक्तिका नाममा नामसारी गरी बेचबिखन समेत गरिसकिएको रहेछ ।

उक्त स्थानमा अहिले हेलमानका सन्तानले घर टहरा निर्माण गरेका छन् । वडा कार्यालयले समेत उक्त स्थानमा साबिककै पार्टी निर्माणका लागि पहल गरेको छ । जग्गा विवाद हुँदै गए पछि रहस्य खुल्यो गुठीका नाममा भएको सबै जग्गा व्यक्तिका नाममा दर्ता भई सकेको छ । जसले जग्गा दान ग¥यो त्यो परिवार र वडा कार्यालयले थप कानुनी प्रक्रिया सुरु गर्ने तयारी गरेका छन् । हेलमानका सन्तानले निर्माण गरेको घर टहरा भत्काएर पार्टी बनाई दिन्छु भनेर वडा कार्यालयमा सहमति समेत गरेका थिए ।

उक्त सहमतिको मसी सुक्न नपाउँदै फेरि  त्यहि परिवारले व्यक्तिका जग्गामा किन पार्टी बनाउने भन्दै धम्कि समेत दिन थालेका छन् । हेलमानका छोरा गोपीलाल । गोपीलालको श्रीमती खमाया । खमायाका नामबाट उनका चार भाइ छोराका नाममा अंशबण्डा भयो । ति मध्ये केहीको निधन भई सकेको छ । बाँकी रहेकाहरुका नाममा रहेको जग्गाबाट हाल गंगालक्ष्मी श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, बद्रिप्रसाद नेपाल, तुलसामाया श्रेष्ठ, रुपेश श्रेष्ठ, दीपेश श्रेष्ठ, कुन्ताबेशी नयाँगाउँ नगरकोट सडक र गंगादेवी श्रेष्ठका नाममा दर्ता नामसारी भएको छ । मालपोत कार्यालय काभ्रेपलाञ्चोकले मोठमा गुठी नै कायम गरेर व्यक्तिका नाममा पुर्जा बनाई दिएको छ । मालपोत कार्यालय काभ्रेपलाञ्चोकले उक्त विषयमा अध्ययन सुरु गरेको बताएको छ ।