उपचार नपाउँदा पोर्चुगलमा नेपाली चेलीको बिचल्ली

खुट्टा नचल्दा ओछ्यानमै थलिन बाध्य

3.5k
Shares

लिस्बन ।

 पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी एक नेपाली चेलीले उपचार नपाउँदा बिचल्लीमा परेकी छिन् ।

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुलीको मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा परेकी हुन् । सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनी औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य छिन् ।

गत जनवरी १० तारिखका दिन कामबाट फर्कने क्रममा मोन्तिजो स्थित पिँगो दोस नजिकै साँझ ७ बजेतिर जेब्रा क्रसिङबाट बाटो काट्दै गर्दा तीव्रगतिमा आएको कारले एक्कासी ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको दाहिने हात र देब्रे हिप भाँचिएको छ ।

कारको ठक्करबाट उछिट्टिएर सडकको छेउमा रगताम्मे अवस्थामा ढलेकी उनको हिपदेखि मुनिको देब्रे खुट्टा नचल्ने भएको छ भने अनुहारमा समेत चोट लागेको छ । हिप फ्याक्चर भई देब्रे खुट्टा नचल्ने भएपछि पीडित मोक्तान ओछ्यानमै थला परेकी छिन् । सामान्य उपचारबाट समेत बञ्चित भएकी उनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ।

 दुर्घटनापश्चात प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि उनलाई तत्काल मोन्तिजोस्थित बरेइरो अस्पताल पु¥याइएको थियो भने कार चालक फरार भएका थिए । उपचारका लागि अस्पताल पु¥यााइए पनि अस्पतालले हातको मात्रै शल्यक्रिया गरी खुट्टाको उपचार नै नगरी घर पठाएको पीडित मोक्तानले दुखेसो पोखिन् । खुट्टाको उपचारका लागि अस्पतालसँग धेरै अनुरोध गरे पनि उपचार नै नगरी घरमै आराम गर्नु भनी अस्पतालले जबरजस्ती डिस्चार्ज गरेको उनले बताइन् ।

रोजगारदाता कम्पनीले समेत उपचारमा बेवास्ता गरेपछि विक्षिप्त बनेकी मोक्तानले उपचारका लागि सहयोगको याचनासमेत गरेकी छिन् । “उपचारै नपाउँदा म त मुढाजस्तै ढलिरहेको छु । न त उठ्न, चल्न सक्छु, न त दिसापिसाब नै गर्न सक्छु ।, विदेशी भूमिमा मेरो रेखदेख र स्याहारसुसार गरिदिने पनि कोही छैन ।,
उपचार नपाउँदा जीवनभर कुँजिएरै बस्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ’,–पीडा सुनाउँदै मोक्तानले भनिन् ।”

दुर्घटनामा परी बाँचेपनि उपचार पाउन नसक्दा घरपरिवारसमेत चिन्तित बनेका छन् । दुर्घटनाका कारण विक्षिप्त बनेकी उनी आफ्नो औषधोपचारका लागि सबैसँग हारगुहार गरिरहेकी छन् । मोक्तान मोन्तिजोस्थित ट्रान्सएटलान्टिको टरभालो टेम्पोरेरिया एलडीए कम्पनीमा कृषि मजदुरका रुपमा कार्यरत थिइन् । भाँचिएको खुट्टाको उपचार नै नगरी जबरजस्ती डिस्चार्ज गरी घर पठाउँदा उनको अवस्था झन् नाजुक बन्दै गएको उनीसँगै बस्ने साथी प्रतिज्ञा बानियाँले बताइन् । “सुस्मिताको उठ्न, चल्न सक्ने अवस्था छैन ।, ओछ्यानमा थला परेकी छिन्, रेखदेख गर्ने कोही छैन । उनको त बिजोग नै भएको’ सहयोगको आशा राख्दै बानियाँले भनिन् ।”

मोक्तानको दुर्घटनाको विषयमा लिस्बनस्थित महावाणिज्यदूतको कार्यालय र गैरआवासीय नेपाली सङ्घलाई जानकारी गराइएको साथै उनको उपचारका लागि विभिन्न माध्यममार्फत पहल भइरहेको यहाँ कार्यरत नेपाली पत्रकार प्रबल भट्टराईले बताए । पीडित मोक्तानको औषधोपचारसहित पाउन सक्ने सेवा सुविधाका लागि कानुन व्यवसायीको व्यवस्था गरी औषधोपचारसँगै आवश्यक कानुनी उपचारको समेत पहल भइरहेको मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले बताए । उनको उपचारका लागि यहाँ क्रियाशील नेपाली सङ्घसंस्थामार्फत आर्थिक सहयोग सङ्कलन अभियानसमेत सञ्चालन गरिएको उनले बताए ।

अस्पतालले डिस्चार्ज गरेपछि उनी कम्पनीले कामदार राख्दै आएको एक आवासगृहमा साथीहरूसँग बस्दै आएकी छिन् । नेपाल नगएको चार वर्ष भएको बताएकी मोक्तानको आठ वर्षीय छोरा र श्रीमान् नेपालमा छन् । मोक्तान दुर्घटनामा परी उपचारबाट समेत बञ्चित हुनुपरेको विषयमा सम्बन्धित निकायमा बुझ्ने काम भइरहेको र उनको उपचारका लागि आवश्यक पहल भइरहेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले बताए ।

पीडित मोक्तानलाई गत जनवरी ३० मा अस्पतालले डिस्चार्ज गरी घर पठाएको थियो । रोजगारीको सिलसिलामा चार वर्षअघि साइप्रस आएकी उनी दुई वर्षअघि पोर्चुगल आएकी हुन् ।