स्पोर्टस अवार्डलाई प्लाजा होटल्स ग्रुपको सह-प्रायोजन



काठमाडौं ।

खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २०औं संस्करणका लागि प्लाजा होटल्स ग्रुपले सह-प्रायोजनलाई निरन्तरता दिएको छ ।

बिहीवार सहप्रायोजनका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) का अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटल्स ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्  । सहप्रायोजक बनेबापत प्लाजा होटल्स ग्रुपले अवार्डका कार्यक्रममा आउने अतिथिका लागि आवास सुविधाको व्यवस्था गरिदिने सम्झौतामा उल्लेख छ । त्यसबाहेक मञ्चले आयोजना गर्ने कार्यक्रमका लागि स्थान उपलब्ध गराउने र खानपानको प्रबन्ध गर्नेछ ।

सम्झौता कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदको प्रतिष्ठित कार्यक्रममा निरन्तर साथ दिन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए  ।

 त्यसैगरी मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सहकार्यलाई निरन्तरता दिएकोमा ग्रुपका प्रवन्ध निर्देशक श्रेष्ठलाई धन्यवाद व्यक्त गरे । स्पोर्ट्स अवार्ड यही माघ २८ गते दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजना हुनेछ ।

पल्सर स्पोर्टस अवार्डअन्तर्गत पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । यसपटक सर्ट लिस्टको रुपमा वर्ष खेलाडी पुरुष र महिला, प्रशिक्षक र युवा खेलाडीका लागि समान आठ खेलाडी मनोनयनमा परेका छन् । सर्ट लिस्टबाट तीन खेलाडी पुनः छानिने छन् । त्यसमध्येबाट अवार्ड कार्यक्रमको दिन विजेता घोषणा हुनेछ ।

पिपल्स च्वाइस विधाको मनोनयनमा रजनी श्रेष्ठ (बडिविल्डिङ), सिक्का सुवाल श्रेष्ठ (टेबल टेनिस), विप्वललाल श्रेष्ठ (कराते), अनन्त तामाङ (फुटबल) र निरुता ठगुन्ना (भलिबल) छन् । उनीहरूका लागि इ-सेवाबाट भोटिङ भइरहेको छ ।

त्यसैगरी आयोजक नेपाल खेलकुद पत्रकार मञ्च तथा मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीको आधिकारिक फेसबुक पेजबाट लाइक, सेयर र कमेन्ट गरेर पनि भोट गर्न सकिन्छ । त्यसबाहेक नेपाल ओलम्पिक संघमा आबद्ध २७ राष्ट्रिय खेल संघका प्रमुख प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यले मत दिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्