कोशी सरकार र पहिचानवादीबीचको वार्ता आज

140
Shares

विराटनगर ।

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने भएको छ। प्रदेश नामाकरणको विरोधमा आन्दोलन गर्दै आएको ‘प्रदेश नम्बर १ पुन: नामाङ्कन संयुक्त संघर्ष समिति’ले वार्ता समिति गठन गरेपछि बिहीबार वार्ता हुने तय भएको हो।

वार्ता दिउँसो ३ बजे विराटनगरको एक होटलमा हुनेछ। गत माघ ६ गते कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्‌ बैठकले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद गवेगुको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय गरेको थियो।

वार्ता समितिको सदस्यमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन्। सरकारी वार्ता समितिले माघ १२ गते पत्र लेख्दै आन्दोलनरत पहिचान पक्षधरहरुलाई वार्ताका लागि बोलाएको थियो।

सरकारी समितिले पत्र पठाएपछि पहिचान पक्षधर संयुक्त संघर्ष समितिको माघ २४ गतेको बैठकले वार्तामा जाने निर्णय गरेको थियो। संघर्ष समितिको बैठकले ११ सदस्यीय वार्ता समिति गठन गरेको छ।

प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधरहरूले प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति बनाएर आन्दोलन गर्दै आएका छन्।