शैक्षिक क्षेत्रमा अन्तर्राष्ट्रिय अभ्यास र नेपालको अवस्था



काठमाडौं ।

नेपालमा उच्च शिक्षा अध्यापनार्थ शैक्षिक संस्थाको स्थापना आजभन्दा १ सय ६ वर्ष पूर्व राणा प्रधानमन्त्री श्री ३ चन्द्र समशेरको पालामा भएको हो। उनले वि.सं. १९७४ मा त्रिचन्द कलेज स्थापना गरी उच्च शिक्षा अध्ययन गर्ने प्रबन्ध मिलाए।

त्रि–चन्द्र कलेज स्थापना भएको ४ दशकपछि विश्वविद्यालय स्थापना गर्ने पहल भयो । सोहीअनुरूप वि.सं. २०१६ मा त्रिभुवन विश्वविद्यालयको स्थापना भयो ।

विश्वविद्यालयस्तरमा नेपालमै संस्कृत भाषामा अध्ययन अवसर उपलब्ध गराउन वि.सं. २०४२ मा महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना भयो । यसरी पञ्चायत कालमा २ ओटा विश्वविद्यालय स्थापना तथा सञ्चालन भएका हुन् । बहुदलीय व्यवस्था बहालीपश्चात् त्रिभुवन विश्वविद्यालयको भारलाई न्यून गर्न वि.सं. २०४७ मा काठमाडौं विश्वविद्यालय स्थापना भयो ।

त्यस्तै, गरी नेपालको पूर्वी क्षेत्रमा विश्वविद्यालयस्तरीय अध्यन अवसर उपलब्ध गराउन वि.सं. २०४९ पूर्वाञ्चल विश्वविद्यालय स्थापना गरियो भने नेपालको मध्ये क्षेत्रमा विश्वविद्यालयस्तरीय अध्यन अवसर उपलब्ध गराउन वि.सं. २०५३ मा पोखरा विश्वविद्यालय स्थापना भयो ।

तत्पश्चात् वि.सं.२०६१ मा लुम्बिनी बौद्ध विश्वविद्यालय, वि.सं. २०६६ मा सुदूरपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान संस्थान, वि.सं. २०७२ (सन २०१६) मा नेपाल खुला विश्वविद्यालय र वि.सं. २०७३ मा राजर्षि जनक विश्वविद्यालय स्थापना भयो । प्रस्तुत सन्दर्भमा शैक्षिक क्षेत्रमा नाम कमाएका फिनल्यान्ड, सिंगापुर, जापान जस्ता मुलुकहरू शैक्षिक प्रणाली, दृष्टिगोचर गर्नु यहाँनिर सान्दर्भिक हुन्छ ।

फिनल्यान्डको शैक्षिक प्रणाली विश्वमै उत्कृष्ट मानिन्छ । फिनल्यान्डमा प्रध्यापन पेसालाई उच्च मर्यादाका साथ लिने मात्र गरिएको
छैन बरू क्षमतावान व्यक्तिमात्र शिक्षण पेसामा प्रवेश गर्नेगरेका छन् । शैक्षिक पद्धतिलाई विकेन्द्रीकृत मात्र गरिएको छैन बल्की पाठ्यक्रम चयनमा स्थानीय सरकारलाई स्वायत्तता प्रदान गरिएको छ।

सैद्धान्तिक ज्ञान, गृहकार्य, घोकाइभन्दा व्यावहारिक ज्ञान र अतिरिक्त क्रियाकलापमा जोड दिने गरिएको छ। कोरा प्रतिस्पर्धाभन्दा सहकार्यमा जोड दिनेगरेको फिनल्यान्डमा हरेक ३० वर्षमा शैक्षिक प्रणाली परिवर्तन गर्ने गरिएको छ ।

क्षमतावान व्यक्तिमात्र शिक्षण पेसामा संलग्न हुने संस्कार निर्माण गरिनु, जीवन उपयोगी शिक्षामा जोड दिइनु र एउटा निश्चित अवधिपश्चात् शैक्षिक प्रणाली पुनरावलोकन गरिनु आदि फिनल्यान्डको शैक्षिक पद्धतिबाट नेपालले सिक्नुपर्ने पाठहरू हुन् ।

सिंगापुरको शैक्षिक प्रणाली विश्वका उत्कृष्ट शैक्षिक प्रणालीमध्ये एक मानिन्छ। शैक्षिक गुणस्तर निगरानीका लागि नेसनल इन्सिच्युट अफ एजुकेसन स्थापना गरेको सिंगापुरमा उक्त निकायद्वारा शिक्षकको क्षमता विकाससम्बन्धी कार्य हुने गरेको छ । जहाँ, नयाँ शिक्षकलाई अनुभव प्राप्त शिक्षकद्वारा तालिम दिने गरिएको छ ।

विद्यार्थीलाई क्षमताअनुुरूपको शैक्षिक क्षेत्र चयनको अवसर मात्र प्रदान गर्ने गरिएको छैन बल्की उद्यमशीलता र आलोचनात्मक सोचाइमा बल मिल्नेगरी पाठ्यक्रम विकास गरिएको छ ।

विद्यालय शिक्षापश्चात् औषत २ वर्ष कुनै न कुनै सिपमूलक कार्य गर्ने अवसर मिलाइएको मात्र छैन बरू अनुशासित, धैर्यवान र मिहिनेती बनाउन हरेक छात्रछात्रालाई १८ वर्ष उमेर पुग्नासाथ २ वर्ष सैनिक सेवा गर्न अनिवार्य गरिएको छ। शिक्षकलाई चिकित्सक, इन्जिनियर वा सरह सेवा सुविधा उपलब्ध गराउने गरेको सिंगापुरमा वार्षिक बजेटको २० प्रतिशत हिस्सा शैक्षिक क्षेत्रमा विनियोजन गर्ने गरिएको छ।

नेसनल इन्सिच्युउट अफ एजुकेसनद्वारा शैक्षिक क्षेत्रको निगानी गरिनु, शिक्षण पेसालाई अन्य प्राविधिक पेसासरह सेवासुविधा गराइनु, उद्यमशीलता र आलोचनात्मक सोचाइमा बल मिल्ने गरी पाठ्यक्रम निर्माण गरिनु, विद्यालय शिक्षापश्चात् उच्च शिक्षाको अलावा कामकाजको अवसर उपलब्ध गराउनु आदि सिंगापुरको शैक्षिक पद्धतिबाट नेपालले सिक्नु पर्ने पाठहरू हुन् ।

जीवन उपयोगीको पक्षपाती जापानमा गणित, विज्ञानजस्ता विषयहरूमा सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञान दिने गरिएको छ । विद्यार्थीलाई किताबी किरो बन्न नदिन हरेक विषयमा प्रयोग र परीक्षणको प्रबन्ध मिलाइएको छ । शैक्षिक गुणस्तरमा एकत्व कायम हुन सकोस् भनी राज्यभर एउटै शैक्षिक बोर्डद्वारा निरीक्षण तथा अनुगमनको प्रबन्ध मिलाइएको छ ।

विद्यार्थीमा आचारण, अनुशासन र नैतिकतामा विशेष जोड दिने गरेको जापानमा तोकिएको पोशाक र पूर्वनिर्धारित समयमा विद्यालययमा उपस्थित भई अध्ययन गर्नुपर्ने संस्कृति विकास गरिएको छ । प्राथमिक तहमा विद्यालययको पोशाक लगाउन अनिवार्य गरिएको जापानमा दश वर्षको उमेरसम्म कुनै जाँचमा सामेल हुनु नपर्ने व्यवस्था छ । सुरुआती १० वर्षमा कसरी सफा रहने, कसरी अग्रजलाई सम्मान गर्ने, कसरी समस्या परेकालाई सघाउने आदि जस्ता व्यावहारिक कुरा सिकाउने गरिएको मात्र छैन, बरू बे्रनटे«निङ, ब्रेनट्रिजर र ब्रेन पजलिङमा जोड दिने गरिएको छ ।

विद्यालययमा मोवाईल फोन बोक्न, कपाल स्टाईलिस बनाउन, छात्रलाई दाह्री पाल्न, छात्रालाई नङपालिस लगाउन, विपरित लिङ्गीय प्रेमसम्बन्ध कायम राख्न निशेष गरिएको जापानमा कक्षाकोठा, शौचालय, विद्यालयय परिसरको सरसफाई शिक्षक र विद्यार्थी मिलेर गर्ने संस्कार बसालिएको छ ।

जीवन उपयोगी शैक्षिक पद्धति अबलम्बन गरिनु एउटै शैक्षिक बोर्डद्वारा सम्रग शैक्षिक क्षेत्रको निरीक्षण तथा अनुगमन गरिनु, विद्यालययस्तरमा अनुशासन, आचरण तथा नैतिकता र उच्च शैक्षिक तहमा विषयगत दक्षता हासिल गर्नेगरी शैक्षिक पद्धति प्रबन्ध गरिनु आदि जापानी शैक्षिक पद्धतिबाट नेपालले सिक्नुपर्ने पाठहरू हुन् ।

अस्ट्रेलियाको शैक्षिक पद्धति विश्वका उत्कृष्ट कहलाएका शैक्षिक प्रणालीभन्दा कम मानिँदैन । सरकारी र निजी गरी २ विधिमा शिक्षण संस्था सञ्चालन गरिएको अस्ट्रेलियामा ४ महिनाको एउटा समेस्टर निर्धारण गरिएको छ।

सैद्धान्तिक ज्ञान तथा लिखित जाँचभन्दा असाइनमेन्टमा जोड दिने गरिएको असाइनमेन्ट खोज तथा अनुसन्धानमा आधारित हुनुपर्ने व्यवस्था गरिएको छ । कतिपय विषयमा लिखित परीक्षा नलिई असाइनमेन्ट मात्र लिने गरिएकोमा अरूको नक्कल गरिएको असाइनमेन्ट अस्वीकार गर्ने गरिएको छ ।

टिउसन तथा कोचिङ्ग कक्षालाई बिलकुलै महत्व दिइएको छैन भने परीक्षामा व्यावहारिक प्रश्न सोध्ने गरिएको छ । अध्ययन गर्नु पर्ने विषयको प्रकृतिअनुसार हप्तामा २ दिनमात्र कक्षा सञ्चालन गर्न सकिने व्यवस्था गरिनुका साथै अनलाइन मार्फत अध्ययन गर्न सक्ने, कक्षामा अध्यापन गराइएका विषयवस्तु र अन्य अध्ययन सामग्री शैक्षिक संस्थाको प्रोर्टलमार्फत् प्राप्त गर्न सक्ने प्रबन्ध मिलाइएको छ ।

हप्तामा २ कक्षा सञ्चालन गर्नु, ४ महिनाको एउटा समेस्टर निर्धाण गर्नु, खोज तथा अनुसन्धानमा आधारित असाइनमेन्टमा जोडदिनु, टिउसन तथा कोचिङ निरुत्साहित गर्नु, अनलाइन अध्ययन प्रबन्ध मिलाउनु, अध्ययन सामग्रीहरू पोर्टलमार्फत् प्राप्त गर्न सक्ने व्यवस्था मिलाउनु आदि अस्टे«लियन शैक्षिक पद्धतिबाट नेपालले सिक्नुपर्ने पाठहरू हुन् ।

गुणस्तरहीन शिक्षाले निरासा, कुण्ठा, बेरोजगारी र विसंगति मात्र निम्ताउने हुुँदा शैक्षिक संस्थाबाट प्रदान गरिने शिक्षा गुणस्तरीय, जीवनउपयोगी, व्यावाहारिक र वैज्ञानिक हुनु पर्दछ । हाम्रो शैक्षिक प्रणालीले गुणात्मकभन्दा मात्रात्मक जनशक्ति उत्पादनमा जोड दिएको छ। जुन दोषपूर्ण छ ।

यसर्थ, गुणात्मक शैक्षिक जनशक्ति उत्पादन गर्न प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक, उच्चमाध्यमिक र उच्च शिक्षाबीच तारतम्य मिलाउनु पर्दछ। शैक्षिक गुणस्तरण सुधारका लागि सरकारी, सामुदायिक तथा निजी तहमा सञ्चालित प्राथिमिक, निम्नमाध्यमिक, माध्यमिक तथा उच्च माध्यमिक र विश्वविद्यालयहरूमा निहित प्रयोगशाला, पाठ््यसामग्री, भौतिक पूर्वाधार, अध्यापकीय क्षमता, अनुगमन तथा निरीक्षण पद्धतिलाई अब्बल तुल्याउनु पर्दछ ।

गुणस्तर सुधार लक्ष्य र समयसीमा अनुबन्धित हुनुपर्दछ । पाँच, दश वा बिस वर्षमा के–कस्तो गुणस्तरसहित कुन उचाइमा पुर्‍याउने, लक्ष्य र समयसीमा निर्धारण गरी, लक्ष्य प्राप्तार्थ आवश्यक स्रोतसाधन सुनिश्चय गर्नुपर्दछ । लक्ष्य प्राप्तिको योजना एवं कार्यक्रम तर्जुमा गरी स्रोतधानको उच्चतम उपयोग हुने गरी कार्यान्वयन गर्न चुक्नु हुँदैन।

उच्च शिक्षा व्यावहारिक र जीवनउपयोगी बनाउन अत्याधुनिक प्रयोगशालासहित प्राविधिक शिक्षामा जोड दिनुपर्छ । यसका निम्ति शोध तथा अनुसन्धान, समस्या समाधान, आलोचनात्मक सोचाई, सूचना प्रविधिको प्रयोग र विद्युतीय पुस्तकालयजस्ता शैक्षिक आयमहरू मजुबत बनाउनु पर्दछ ।

शिक्षालाई जीवनउपयोगी तुल्याउन शैक्षिक प्रणालीलाई उद्योगधन्दा, उद्यमशीलता र समुदायसँग अनुबन्धन गर्न बिसर्नु हुँदैन । हाम्रा प्राकृतिक सम्पदा अर्थात् जलस्रोत, कृषि भूमि, हवापानी, उच्च हिमश्रृंखला, हिमताल, बहुमूल्य, जडीबुटी, खनिज, जैविक विविधता, संस्कृतिक विविधतालाई सम्बोधन गरी विदेशी विद्यार्थीलाई यी विधामा पठनपाठन गर्न आकर्षित गर्नुपर्छ ।

क्षमतावान, गुणवान, विनयी, अध्ययनशील अध्यापक बिना असल चेलाको जन्म हुँदैन । अर्थात् गुणवान चेला उत्पादन गर्न गुणवान गुरु आवश्यक पर्दछ । शिक्षकले एउटा विद्यार्थीको मात्र नभई, समाज र मुलुकको भविष्य निर्धारण गर्ने हुँदा क्षमतावान व्यक्ति मात्र शैक्षिक पेसामा प्रवेश गर्ने वातावरण निर्माण गर्नुपर्दछ । शिक्षकको क्षमता अविवृद्धिका लागि नियमित रूपमा तालिम, सिकाइ तथा प्रशिक्षण, अनुसन्धानमा सहभागिता, आकर्षक सेवासुविधा उपलब्ध गराउँदै निजलाई अध्ययनशील, शोधक, नैतिकवान, अधावधिक बनाउने वातावरण सिर्जना गर्नुपर्दछ ।

अध्यापकलाई अध्ययनशील एवं अधावधिक तुल्याउन नियुिक्त तथा निस्कासन स्वतन्त्रता(हायर एन्ड फायर) र कार्य सम्पादनमा आधारित पारिश्रमिक (परफमेन्स बेस्ट पेईङ्ग) विधि कार्यान्वयमा ल्याउन हिचकिचाउनु हुँदैन । अध्यापन पेसाको सामाजिक प्रतिष्ठा खस्किरहेकाले उठानका उपाएहरू पहिल्याई कार्यान्वयन गर्नुपर्दछ । अर्थात् आकर्षक सेवा सुविधाको प्रबन्ध गरी निजामती वा सोसरह आकर्षक तुल्याउनु पर्दछ ।

शिक्षाको उद्देश्य व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा सकारात्मका रूपान्तरण ल्याउनु, जीवन जिउन सहज बनाउनु र आर्जित ज्ञान व्यवहारमा उतार्नु पनि भएकाले शिक्षा व्यावहारिक हुुनुपर्दछ । यसका निमित्त अध्यापन विधिलार्ई विद्यार्थी केन्द्रित, द्विपक्षीय, अन्तक्रियात्मक, व्यावहारिक र प्रविधिमैत्री बनाउनु पर्दछ।

उक्त उद्देश्य प्राप्तिका निमित्त डिस्कार्ट लर्निङ, वुम्सटेक्सोमनी तथा स्टिम (साइन्स, टेक्नोलोजी, इन्जिनेरिङ एन्ड म्याथमेटिक) जस्ता अत्याधुनिक विधि अवलम्बन गर्नुपर्दछ । अध्ययन गरिएको विषयमा विद्यार्थीलाई पोख्त गराउने प्रयन्त गर्नुपर्दछ । अर्थात, जुन विषयमा विद्यार्थीले अध्ययन गररिहको हो, सो विषयको व्यावहारिक प्रयोग गर्ने अवसर उपलब्ध गराउनु पर्दछ । मलेसिया, भियतनामलगायतका मुलुकहरूमा पठ्यक्रममा इन्जिनियरिङ मेडिसन, विज्ञान तथा प्रविधिजस्ता प्राविधिक विषयहरूको हिस्सा ३० प्रतिशत रहेको परिप्रेक्षमा हाम्रो उच्च शिक्षाको पाठ्यक्रममा रहेको विज्ञान तथा प्रविधिको १५ प्रतिशत हिस्सालाई ३० प्रतिशत पुर्‍याउनु पर्दछ ।

सिंगापुरको शैक्षिक अवस्था आजभन्दा ५० वर्ष पूर्व नाजुक रहेकको र सिंगापुर नेसनल युनिभर्सिटीले व्यावहारिक र जीवन उपयोगी शैक्षिक प्रणाली अवलम्बन गरी १५ वर्षमै शैक्षिक क्षेत्रको कायापलट ल्याउन सफल भएको कुरा हाम्रो लागि अनुकरणीय नभई रहन सक्दैन ।

मुलुक सबथोक हो भन्ने भावना नयाँ पुस्तामा जागृत गर्न सके जस्तोसुकै सेवासुविधा एवं वातावरण स्वीकार गरी नयाँ पुस्ता स्वदेश फर्कन्छन्।

यसर्थ, मातृभूमि केही होइन, पैसा सबथोक हो, जसरी पनि पैसा कमाउनुपर्छ भन्ने मनोविज्ञान तोडी मुलुक सबथोक हो र मुलुकको लागि बलिदान दिन तयार हुनुपर्दछ भन्ने भावना जागृत गर्नुपर्दछ । यसका निमित्त शासक, पुँजीपति, समाजसेवी, सामाजिक अभियान्ता एवं अगुवा वर्गमा राज्यप्रतिको त्याग, समर्पण र निष्ठा आवश्यक पर्दछ ।

विदेशमा उच्च शिक्षा हासिल गरेका नयाँ पुस्तालाई स्वदेशमा आकर्षित गर्न विदेशमा प्राप्त गर्न सकिने सेवासुविधा तथा अवसरहरू स्वदेशमै सिर्जना गर्न सक्नुपर्दछ ।

उक्त अवसर सिर्जना गर्न कृषि, जलविद्युत्, पर्यटन, उद्योग, सडक, खनिज, सूचना प्रविधि क्षेत्रमा लगानी अभिवृद्धि गरी रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्दछ । जुन लक्ष्य रातारात कठिन भए पनि असम्भव भने छैन ।

प्रतिक्रिया दिनुहोस्