वनमा निमित्तकै जगजगी

322
Shares

काठमाडौं ।

वन तथा वातावरण मन्त्रालयको राजनीतिक र प्रशासनिक दुवै नेतृत्व कर्मचारी व्यवस्थापनमा असफल देखिएको छ।

वन मन्त्री डा. वीरेन्द्रप्रसाद महतो र वन सचिव डा. दीपक खरालले मन्त्रालय मातहतका अत्यन्तै संवेदनशील रहेका निकायमा उपसचिव दरबन्दी भएका ठाउँमा धमाधम अधिकृतलाई निमित्त दिने क्रम जारी राख्नुभएको छ। जसका कारण ती निकायले प्रभावकारी रूपमा काम गर्न सकेका छैनन्।

वन मन्त्रालयले पछिल्लो समय राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिअन्तर्गत रहेको कार्यान्वयन इकाइ जनकपुरमा उपसचिव पठाउनुपर्नेमा चलखेलका आधारमा अधिकृत मिथिलेश महतोलाई निमित्तको जिम्मेवारी दिँदै आएको छ।

यसअघि पनि मन्त्रालयले यस्तै संवेदनशील मानिएका कार्यालयमा उपसचिव दरबन्दी रहेका स्थानमा उपसचिव नपठाई अधिकृतलाई नै निमित्तको जिम्मेवारी दिँदै आएको थियो।

चुरे विकास समितिको जनकपुरस्थित कार्यालयमा लामो समयदेखि निमित्तकै भरमा कार्य सञ्चालन हुँदा काम प्रभावित हँुदै आएको छ।

सो कार्यालयमा मन्त्रालयले विगत ६ महिनादेखि अधिकृत मिथिलेश महतोलाई निमित्तको जिम्मेवारी दिँदै आएको छ। जबकि मन्त्रालय मातहत दर्जनौं उपसचिवहरू रहेका छन्।

उपसचिवलाई जिम्मेवारी नदिएर अधिकृतलाई निमित्त कायम गरिराख्दा ठूलै आर्थिक चलखेल भएको चर्चा मन्त्रालयमा चल्ने गरेको छ। यसअघि पनि विभिन्न संवेदनशील निकायमा उपसचिव रहने स्थानमा निमित्तको रूपमा अधिकृतलाई नै पठाउँदा मन्त्रालयमा असन्तुष्टि चुलिएको थियो।

वन मन्त्रालयका सचिव दीपक खरालले यसअघि नेपाल समाचारपत्रसँग कुराकानी गर्दै मन्त्रालय मातहत रहेका निकायमा निमित्त रहेका स्थानमा कन्फर्म पठाइने र छिटोभन्दा छिटो कर्मचारीको उचित व्यवस्थापन गर्ने दाबी गर्नुभएको थियो। तर, ६ महिना पुग्न लाग्दासमेत सचिव खरालले सो दाबी पूरा गर्न सक्नुभएको छैन।

उहाँले त्यस्तो दाबी गरे पनि त्यतिखेरै त्यसको कार्यान्वयन गर्नुको साटो चुरे कार्यान्वयन इकाई जनकपुरमा फेरि उपसचिव रहने ठाउँमा अधिकृतलाई नै निमित्तको जिम्मेवारी दिएर पठाउनुभएको थियो। त्यसैले उहाको बोली र व्यवहारमा उल्टोपन हुँदै आएको पाइएको छ।

वन मन्त्रालयका अधिकारीहरूले सचिव खराल कर्मचारी व्यवस्थापनमा असक्षम भइसकेकाले उहाँबाट आशा गर्ने ठाउँ नरहेको भन्दै तीव्र असन्तुष्टि जनाउने गरेको बताइएको छ । मन्त्रीलाई त झन् यस्तो सुधारको विषय मतलब नै नभएको कर्मचारीको भनाइ छ।

‘मन्त्री र सचिव कसैलाई पनि वनमा सुधार गर्ने सोच नै छैन, कसरी हुन्छ आफ्नो आफ्नो स्वार्थपूर्ति गर्नमा नै लिप्त छन्’ –मन्त्रालयका एक अधिकृतले भने ।

वन मन्त्रलाय स्रोतका अनुसार मन्त्रालयको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व केही निश्चित व्यापारिक घराना तथा निजी क्षेत्र र स्वार्थसमूहको रुचिअनुसार सञ्चालन हुँदा वन क्षेत्रमा सुधार प्रक्रियासमेत अवरुद्ध हुँदै आइरहेको छ।

जसका कारण मन्त्रालयको दुवै नेतृत्वले कर्मचारीको कुशल व्यवस्थापनलाई पूर्ण रूपले बेवास्ता गर्दै आइरहेको वन स्रोतले जानकारी दिएको छ।

मन्त्रालयको नेतृत्वमाथि कर्मचारी व्यवस्थापनमा समेत चलखेलमा रमाउने गरेको आरोप लाग्दै आइरहेको छ। त्यसै गरी अन्य कतिपय संवेदनशील निकायमा उपसचिव दरबन्दी रहेको ठाउँमा सेटिङका आधारमा अधिकृतलाई नै जिम्मेवारीलाई निरन्तरता दिइँदै आइएको छ।

वन तथा वातावरण मन्त्रालयका अनुसार अत्यन्तै संवेदनशील मानिएको कोशी टप्पु वन्यजन्तु आरक्षमा डेढ वर्षदेखि अधिकृत रमेश यादवलाई निमित्तको जिम्मेवारी दिइँदै आइएको छ।

उपसचिव दरबन्दी रहने सो ठाउमा अधिकृतका रूपमा रहेका यादवल डेढ वर्षदेखि निमित्त चलाउँदै आइरहेका हुन् । सो निकायमा पनि काम प्रभावकारी रूपमा हुन सकेको छैन।

उपसचिवले गर्ने काम र भूमिका अधिकृतले निर्वाह गर्न नसक्ने भएकाले कोशी टप्पु वन्यजन्तुमा प्रभावकारी रूपमा काम हुन नसकेको वन मन्त्रालयकै कर्मचारीहरू बताउँछन् । मन्त्रालयले सेटिङका आधारमा अर्का उपसचिव नपठाएको वन मन्त्रालयल स्रोतको दाबी छ ।

यसै गरी मोरङस्थित राष्ट्रपति चुरेजस्तो महत्वपूर्ण कार्यक्रममा पनि उपसचिव दरबन्दीमा अधिकृत रहेका काशी यादवलाई नै डेढ वर्षदेखि निमित्तको जिम्मेवारी दिँदै आइएको छ।

सो निकायमा पनि निमित्तले प्रभावकारी काम गर्न सकिरहेका छैनन्। मन्त्री तथा सचिव कर्मचारीको वैज्ञानिक व्यवस्थानमा ध्यान नदिई केही निजी व्यापारिक घरानाको स्वार्थमा लागिरहेकाले वन प्रशासनमा विकृति मौलाएको बताइएको छ।

वन मन्त्रालय स्रोतका अनुसार मन्त्रालय र मातहतका निकायबाट गलत कार्यहरू हुने क्रम बढेसँगै अख्तियारमा वन क्षेत्रका विरुद्ध पर्ने भ्रष्टाचार उजुरीसमेत ह्वात्तै वढ्न थालेको छ।

अख्तियारले पनि वन क्षेत्रमा भ्रष्टाचारका उजुरीहरू बढ्न थालेकाले त्यसलाई गम्भीरतापूर्वक लिइएको जनाएको छ।