पहिलो एकदिवसीयमा आज क्यानडासँग भिड्दै नेपाल



काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दै छ। नेपाल र क्यानडा बीचको खेल टियु क्रिकेट मैदानमा बिहान ९ः १५ बजेदेखि सुरु हुने छ।

लिग टुको पहिलो सिरिजको तयारीका लागि नेपालले क्यानडासँग एक दिवसीय सिरिज खेल्न लागेको हो। बुधबार खेलअघिको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक मोन्टी देसाईले नयाँ खेलाडीको साथमा खेल्ने निकै उत्साहित भएको बताए।

यू–१९ टोलीका दुई नयाँ खेलाडी र प्रधानमन्त्री कपमा राम्रो गरेका खेलाडीसहित केही नयाँ अनुहारलाई लिएर टोली बनाइएको देसाईंले बताए। क्यानडाविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिमको घोषणा गरेको छ।

क्यानडाविरुद्ध रिजन ढकालसहित हेमन्त धामी र आकाश चन्दलाई पहिलो पटक टिममा समावेश गरिएको छ भने करण केसी, दिपेन्द्र सिंह ऐरी लगायतलाई भने आराम दिइएको छ।

क्यानडाविरुद्ध खेल्ने टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भिम सार्की, आरिफ सेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सुर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन्।

सन् २०१९ मा एकदिवसीय मान्यता गुमाएको क्यानडाले २०२३ क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गर्दै ४ वर्षका लागि एकदिवसीय मान्यता पुनः प्राप्त गरेको हो।

त्यस्तै क्यानडाले आईसीसी टी-२० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी–२० विश्वकपमा समेत आफ्नो स्थान सुरक्षित गरेको छ।

क्यानडाविरुद्धको सिरिजको दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुने छ।

प्रतिक्रिया दिनुहोस्