चितवन ।
चितवनमा १ किलो २०० ग्राम गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुर बस्ने १९ वर्षीय निरज श्रेष्ठ रहेका छन् ।
गत सोमबार साँझ ५:०५ को समयमा अस्थायी प्रहरी पोष्ट गणेशस्थान चितवनबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका वडा नं. ११ गणेशस्थान स्थित सडक खण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा सिमलढाप तर्फबाट गणेशस्थान तर्फ दुई जना सवार रही आउँदै गरेको बा.प्र.०३/०४ प ४०२३ नम्बरको स्कुटरलाई चेकजाँचको लागी रोक्न खोज्दा स्कुटर पछाडि झोला बोकेको अवस्थामा रहेको व्यक्तिले सो झोला फ्याँकी दुवै जना स्कुटर र खैरो रङ्गको भिर्ने झोला छोडी भागेका थिए ।
सो झोला चेकजाँच गर्दा झोला भित्र प्लास्टिकको झोलामा दुई वटा पोका बनाई राखेको अवस्थामा प्रतिबन्धित लागू औषध गाँज १ किलो २०० ग्राम फेला परेको थियो ।
लागु औषध र स्कुटर छोडी भागेको लाई खोज्ने क्रममा मंगलबार साँझ भरतपुर महानगरपालिका वडा नं.८ गौरीगंजबाट श्रेष्ठ पक्राउ परेका हुन् भने अर्का व्यक्ति फरार छन् उनको खोजी भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । श्रेष्ठलाई जिल्ला अदालत चितवनबाट पक्राउ मितिबाटै लागु हुने गरी म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया