कांग्रेस ओखलढुङ्गाको महासमिति चयनमा चरम विवाद, केन्द्रीय निर्वाचन समितिमा उजुरी

10.53k
Shares

काठमाडौं ।  

नेपाली कांग्रेस ओखलढुङ्गाको महासमिति चयनमा चरम विवाद भएको छ । महासमिति छनोट प्रक्रियामाथि असहमति जनाउँदै ८ जना महाधिवेशन प्रतिनिधिले केन्द्रीय निर्वाचन समितिमा उजुरी दर्ता गराएका हुन् ।

पार्टीको विधि, विधान र पद्धति अनुसार गरिनुपर्ने महासमिति सदस्य चयनलाई कसैको निर्देशन र लेनदेनका आधारमा उम्मेदवारहरुबीच छलफल नै नगरी विधि प्रक्रिया मिचेर रातारात घोषणा गरेको भन्दै जिल्ला कार्यसमिति ओखलढुङ्गा विरुद्ध केन्द्रमा उजुरी दिएको महाधिवेशन प्रतिनिधिहरूले दाबी गरेका छन् ।

केन्द्रीय निर्वाचन समितिले ओखलढुङ्गाको महासमिति सदस्य चयनका सन्दर्भमा उजुरी दर्ता भएको पुष्टि गरेको छ । जिल्ला सभापति तेजेन्द्र खनाललगायत केही नेताहरूले महासमिति सदस्य मनोनयन दर्ता गराएका उम्मेदवारको मनोनयन पत्र समेत गायब बनाएको उजुरीकर्ताहरूको आरोप छ ।

‘गुपचुपमा रातारात गरेको महासमिति सदस्यको निर्णय अवैधानिक र अव्यवहारिक छ’, नेता कुामर लुईटेलले भने–‘पार्टीमा बृहत् एकताको आवश्यक परेको यो अवस्थामा गैर राजनीतिक र अवैधानिक कार्यले ओखलढुङ्गा काँग्रेसलाई अझ कमजोर बनाउने खेल भएको छ । यसले निर्णयकर्तामाथिको अक्षमता दर्साएको छ ।’

कांग्रेस कोसी प्रदेश कार्यसम्पादन समितिका सदस्य समेत रहेका लुइँटेल, प्रदेश सदस्य रुद्र अधिकारी, सविता राई, पूर्व जिल्ला सभापति महेश कोर्मोचा, पूर्व पार्टी सचिव अशोक कार्की, प्रकाश दाहाल, दुर्गा तामाङ र अर्चना लुइटेलले निर्वाचन समितिमा मुद्दा हालेको बताएका छन् ।

यता नेपाली कांग्रेस जिल्ला कार्यसमितिले भने आगामी फागुन पहिलो हप्ता बस्ने महासमिति बैठकमा भाग लिनका लागि जिल्ला कार्यसमितिले सर्व सहमत महासमिति चयन गरेको दाबी गरेको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने ११ पदमा खिलानाथ दाहाल, लीला बल्लभ दाहाल, नवीन राई, वेदबहादुर रोका, सर्वधन तामाङ, गोमा केसी, बाला अधिकारी, हरि दाहाल, कुमार श्रेष्ठ, हेमालक्ष्मी राई र होमबहादुर विक चयन भएको नेपाली कांग्रेस ओखलढुङ्गाले जनाएको छ ।

पार्टीको १४ औ महाधिवेशनका लागि जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूबाट विधानतः छनोट हुनुपर्ने महासमिति सदस्यका लागि तत्कालीन जिल्ला निर्वाचन समितिले २०७८ मंसिर १० मा उम्मेदवारी दरखास्त आव्हान गरेअनुसार दरखास्त दिएपछि उम्मेदवारहरुबीच विना छलफल र विना जानकारी विधिप्रकृया मिचेर रातारात महासमिति सदस्यको घोषणाप्रति गम्भीर आपत्ति जनाउँदै नेताहरूले निर्णय सच्याउन दबाब दिएका छन् ।

महासमिति सदस्य छनौटको अनुहार हेर्दा पुरानालाई पाखा लगाएर नयाँलाई अवसर दिने रणनीतिको रूपमा ओखलढुङ्गा कांग्रेस अघि बढेको देखिन्छ । तर, कतिपयले यसलाई आर्थिक लेनदेनमा पद साटिएको टिप्पणी समेत गरेका छन् ।

महाधिवेशन प्रतिनिधिमध्य अधिकांशले महासमिति सदस्यका लागि त्यही बेला मनोनयन दर्ता गराएका थिए । उक्त मनोनयनलाई खारेज गर्दै पुरानो मितिमा पुनः मनोनयन दर्ता गर्नु र अधिवेशनताका नै सर्व सहमत घोषणा भएका महासमिति सदस्यलाई समेत पुनः निर्वाचित घोषणा गर्नु अवैधानिक भएको कोसी प्रदेश कार्यसमिति सदस्य रुद्र अधिकारीले बताए ।

उजुरी निवेदनका साथ २०७८ मंसिर १० मा दर्ता भएका उम्मेदवारको नामावली विवरण, सोही दिन निर्विरोध निर्वाचित दलित क्लष्टरबाट महासमिति सदस्यको प्रमाणपत्रको प्रतिलिपि, २०८० माघ २० मा टाँस गरिएको माघ १७ को निर्वाचन सम्बन्धी सूचना र निर्वाचित महासमिति सदस्यहरूको अन्तिम नामावली प्रकाशनको सूचना समेत पेस गरेका छन् ।

जिल्ला अधिवेशन भएको सवा दुई वर्ष सम्म महासमिति सदस्य चयन गर्न नसकेको ओखलढुङ्गा कांग्रेसमा अभिभावकत्वको अभावले निरन्तर समस्या उत्पन्न भइरहेको छ । पार्टीका केन्द्रीय सदस्य प्रदीप सुनुवार र रामहरि खतिवडा दुवै नेताले पार्टी मिलाउने भन्दा पनि आ–आफ्नै डम्फु बजाउनमै रमाइरहेका कारण कांग्रेसभित्र भाँडभैलो मौलाएको जिल्लाका आम कार्यकर्ताले गुनासो गरेका छन् ।