जैशीदेवलको आयोजनामा हुने मेयरकप तेक्वान्दोको तयारी पूरा

0
Shares

काठमाडौं ।

जैशीदेवल युथ क्लबको आयोजनामा हुन लागेको चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भएको छ ।

माघ २५ देखि २७ गतेसम्म सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा हुने उक्त प्रतियोगतामा बागमती प्रदेशका १८ नगरपालिका र आयोजकका दुई टिम गरी कूल २० टिमले सहभागिता जनाउने छन् । प्रत्येक टिममा २०–२० खेलाडी रहने गरी प्रतियोगितामा कूल चार सय खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगितामा आयोजक जैसीेदेवलका ३० खेलाडीले सहभागिता जनाउनेछन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी काजल श्रेष्ठ तथा सञ्जीव ओझाले आयोजक टिमका खेलाडीहरुलाई यस प्रतियोगितालाई मध्येनजर गरी प्रशिक्षण दिइरहेका छन् ।

प्रतियोगिताको कूल पुरस्कार राशि करीब दुई लाख रुपियाँ रहेको छ । यस प्रतियागितालाई काठमाडौं महानगरपालिकाले प्रमुख प्रयोजन गरेको छ । प्रतियोगितामा आठ(आठ तौल समूहमा ब्वाइज र गर्ल्सतर्फ प्रतिस्पर्धा हुनेछन् ।

प्रत्येक स्वर्ण पदक विजेतालाई दुई हजार, रजत पदक विजेतालाई एक हजार र कांश्य पदक विजेतालाई पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी, बेस्ट फाइटर पुरुष र बेस्ट फाइटर महिलालाई जनही १ सय ५० अमेरिकी डलर पुरस्कार दिइनेछ ।

सर्वश्रेष्ठ पुम्से पुरुष खेलाडी, सर्वश्रेष्ठ पुम्से महिला खेलाडी, सर्वश्रेष्ठ निर्णायक र उत्कृष्ट प्रशिक्षकलाई जनही एक सय डलर प्रदान गरिनेछ ।

जैशीदेवल युथ क्लबका अध्यक्ष राजेश प्रजापतिले यस प्रतियोगितामा आयोजक टिमबाट स्वर्ण पदक जित्ने खेलाडीलाई विदेशमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सामेल गराइने जानकारी दिए ।

अध्यक्ष प्रजापतिले हरेक संस्करणमा केही नयाँ गर्ने प्रयासअनुरुप यसपटकदेखि खेलाडीहरुको एक हप्ताका लागि एक लाख रुपियाँ बराबरको बिमा गरिएको बताए ।

त्यसैगरी उनले सम्पूर्ण टिम, खेलाडीका लागि सहभागिता निशुल्क रहेको र सम्पूर्ण खेलाडीका लागि टिसर्ट प्रदान गर्नुका साथै ब्रेकफास्ट, लन्च र डिनरको व्यवस्था गरिएको जानकारी पनि दिए ।

त्यसैगरी आयोजकले प्रशिक्षक तथा निर्णायकहरुलाई पनि ज्याकेटको व्यवस्था गरेको छ । २०५० सालमा स्थापित जैशीदेवल क्लबले खेलकुदबाहेक सामाजिक, धार्मिक र जनचेतनामूलक कार्यक्रम पनि लामो समयदेखि गर्दै आएको छ ।