वैदेशिक रोजगारीमा जानेमा मदेशबाट धेरै

896
Shares

वीरगन्ज  । 

वैदेशिक रोजगारीमा जानेमा मधेशका सबैभन्दा धेरै रहेको पाइएको छ । यो विषयमा पर्सामा काम गर्दै आइरहेको दिव्य विकास श्रोत केन्द्रले यस्तो जानकारी दिएको हो । परियोजनाबाट वैदेशिक रोजगारीमा जान चाहने र फर्केका तथा ठगीमा परेका जस्ता व्यक्तिहरूलाई राहत पुगेको सामी कार्यक्रमका जिल्ला संयोजक रामाशंकर प्रसाद कुश्वाहाले बताउनुभयो ।

वैदेशिक रोजगारीको क्षेत्रमा पीडित तथा वैदेशिक यात्रालाई कसरी सहज बनाउने भन्ने उद्देश्यले सामी कार्यक्रमले सहयोग र सहकार्य गर्दै आएको छ । हाल सामी कार्यक्रम अन्तर्गत दुई जना कर्मचारीहरूले प्रत्येक युवालाई वैदेशिक रोजगारीको विषयमा सूचना दिने तथा सीप सिकाउने र तीन जनाले घर घरमा पुगेर सूचना र सचेतनाका कार्य गर्दै आएको कुश्वाहाले बताउनुभयो ।

हालसम्म पर्साका ४ पालिकामा सञ्चालित यस परियोजनामार्फत ५९ वटा उजुरी परेकोमा त्यसमध्ये ५७ वटा ठगीको मुद्दा परेका थिए । जसमध्ये १७ वटा समाधान गरिएको पनि उहाँले बताउनुभयो ।

आ.व.२०६३-६४ देखि २०७९-८० सम्म नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेको संख्या ६४ लाख ५२ हजार २ सय ३४ पुगेको छ भने दैनिक सरदर २ हजार १ सय १३ जना वैदेशिक रोजगारमा जाने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

त्यसमध्ये ३० प्रतिशत मात्र श्रमिकहरूले सीप सिकेर तालिम लिएर वैदेशिक रोजगारीमा जाने गरेकोले वैदेशिक रोजगारीको क्षेत्रमा पीडित श्रमिकहरू तथा तिनका घरपरिवारको सदस्यहरूलाई न्याय दिलाउन र क्षतिपूर्ति दिलाउनका लागि पत्रकारितामार्फत बहस र पैरवी गर्न आवश्यक रहेको भन्दै सरकोकारवालाहरुले आग्रह गरेका थिए ।

हाल देशभरिबाट ६४ लाख ५२ हजार २ सय ३४ श्रमिकहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा छन् भने मधेस प्रदेशका मात्र १ लाख ८१ हजार ६ सय १३ श्रमिकहरू वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीबाट देशमा हाल ५६ प्रतिशत परिवारले विप्रेषण प्राप्त गरिरहेका छन् ।