उपत्यकाकै ठुलो सब स्टेसन निर्माण सम्पन्न

1.6k
Shares

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०/१३२ केभीको सब स्टेसन निर्माण सम्पन्न गरेको छ।

त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने मातातीर्थ २२०/१३२ केभी सब स्टेसन निर्माण गरिएको हो।

सब स्टेसनको क्षमता ३२० एमभिए छ। काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठुलो सब स्टेसन हब बनेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातातीर्थ सब स्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणहरूको सफलतापूर्वक परीक्षण गरिएको बताए।

‘मातातीर्थ सब स्टेसनलाई २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याउन २२० केभीका त्रिशूली ३ बी हब या मार्कीचोक सब स्टेसन बन्नु पर्ने छ, मार्कीचोक सब स्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ, त्रिशूली ३ बी हब आगामी चैतको दोस्रो साताभित्र चार्ज गर्ने गरी काम भइरहेको छ, उक्त सब स्टेसन सञ्चालनमा आएपछि मातातीर्थ सब स्टेसन २२० केभीमा चार्ज गरिने छ’,उनले भने।

‘काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि २२० केभीको पूर्वाधार तयार भएको छ, उक्त सबस्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने छ, देशको एकीकृत विद्युत् प्रणालीसमेत सुदृढ बन्ने छ।’