विदेशी मुद्रा सञ्चिती हालसम्मकै उच्च

448
Shares

काठमाडौं ।

चालू आर्थिक वर्षको ६ महिनासम्म एक वर्षभन्दा बढी समयसम्मको वस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार आर्थिक वर्षको शुरूमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति रहेकोमा हाल १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ।

जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो ।कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकामा पुस मसान्तमा १८ दशमलव नौ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ करोड पुगेको छ।

राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकामा पुस मसान्तसम्म पुग्दा ११ दशमलव आठ प्रतिशतले वृद्घि भई दुई खर्ब १६ अर्ब ३५ करोड कायम भएको छ। गत पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत छ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव पाँच महिनाको वस्तु आयात र १२ दशमलव एक महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

यसैबीच चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेर ७ खर्ब ३३ अर्ब २२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव ३ प्रतिशतले बढेको थियो।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख सात हजार नौ सय ७० र पुनःश्रम स्वीकृति लिनेको संख्या एक लाख ३५ हजार चार सय ३५ रहेको छ।

चालु खाता एक खर्ब ६१ अर्ब ६२ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोडले घाटामा थियो।

यो अवधिमा पुँजीगत ट्रान्सफरमा भने ३० प्रतिशतले कमी आई तीन अर्ब ११ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ५३ करोडले धनात्मक रहेको छ।

त्यस्तै, सोही अवधिसम्म शोधनान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा छ। कूल विदेशी विनिमय सञ्चिति १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ।

सरकारको खर्च पाँच पाँच खर्ब ६६ अर्ब ६२ करोड र राजस्व परिचालन रु चार खर्ब ९६ अर्ब ५० करोड रहेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र कायम भएको छ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति पाँच दशमलव २६ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव २६ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने सरकारको लक्ष्य छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति चार दशमलव ८५ प्रतिशत रहेको छ।

गत पुस महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ७६ प्रतिशत छ। यो अवधिमा तराईको मूल्यवृद्धि चार दशमलव ७८ प्रतिशत, पहाडको पाँच दशमलव ४० प्रतिशत र हिमालको छ दशमलव ५७ प्रतिशत छ।

चालु आर्थिक वर्षको पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति तीन दशमलव ३६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति नौ दशमलव ८२ प्रतिशत रहेको थियो, गत पुसमा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६ दशमलव १६ प्रतिशत, मध्यवर्ती वस्तुको एक दशमलव ९९ प्रतिशत र पुँजीगत वस्तु दुई दशमलव ७१ प्रतिशत रहेको छ।

समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति एक दशमलव शून्य ८ प्रतिशतले घटेको छ।