तरकारी किन्न गएमा मामा नफर्किएपछि…

6.7k
Shares

हेटौंडा ।
करिब ३ वर्षीय एक बालक हेटौंडामा बेवारिस अवस्थामा फेला परी प्रहरीको सहयोगमा उद्धार भएका छन् । गहुँगोरो वर्ण, नाम कृष्ण तामाङ बताउने, दाहिने गालामा कालो ठूलो कोठी भएको, दाहिने कानमा मुन्द्रा लगाएका बालक परिवारको जानकारी दिन नसक्ने भएपछि परिवार खोजीमा समस्या भएको बाल हेल्पलाइन मकवानपुर प्रमुख झबिन्द्र ज्ञवालीले बताउनुभयो ।
बालकका परिवारलाई सबैको सहकार्यमा खोजीको लागि आह्वान गर्दै ज्ञवालीले बालक चिन्ने जोकोहीले बाल हेल्पलाइनको पैसा नलाग्ने फोन १०९८ मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ । बालकलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–१० स्थित बसपार्कमा फेला पारी तत्काल उद्धार गरेर संरक्षण एवम् परिवार खोजीका लागि बाल हेल्पलाइनमा पठाइएको हो ।
आमाको नाम फूलमाया तामाङ बताउने बालकले आमाको मृत्यु भएको, बुबाबारे थाहा नभएको र आफू मामासँग बस्दै आएकोमा मामा तरकारी किन्न गइ नफर्किंदा आफू अलपत्र परेको बताए । बालकले उद्धारको समयमा कालो रंगको जुत्ता, निलोभित्र भुवा भएको ज्याकेट, धर्के टीसर्ट र रातो सुरुवाल लगाएका थिए । बालकको साथमा कालो सानो ह्याण्डब्याग र त्यसभित्र खेलौना, चिउरा र बिस्कुटको प्याकेट छन् ।