स्पोर्ट्स अवार्डको वर्ष युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक

168
Shares

काठमाडौं ।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औं संस्करणका लागि मंगलबार उत्कृष्ट वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ ।

यसअघि चार विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्दै आएपनि यस पटकदेखि मञ्चले पहिलो चरणमा दुवै विधामा उत्कृष्ट ८ जनाको नाम सार्वजनिक गरेको हो । वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडीहरूलाई स्पोर्ट्स अवार्डमा समेट्ने उद्देश्यले यो प्रयोग गरिएको हो । मनोनयनमा परेका आठ जनाबाट उत्कृष्ट तीनको छनोट केही दिनमा सार्वजनिक गरिनेछ । अन्तिम मनोनयन सूचीमा परेका तीनमध्येबाट कार्यक्रमको दिन विजेता चयन गरिनेछ ।

यसपटक वर्षका युवा खेलाडी मनोनयनमा राममाया बुढा (एथ्लेटिक्स), सुष्मा तामाङ (बक्सिङ), सुजाता तामाङ (फुटबल), युनेश बुढाथोकी (फुटबल), विजय बाटा (बक्सिङ), देव खनाल (क्रिकेट), दीपेश कँडेल (क्रिकेट), सद्भाव आचार्य (गल्फ) परेका छन् । वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा चन्द्र गुरुङ (एथ्लेटिक्स), दीपक महर्जन (बक्सिङ), भगवती रानामगर (फुटबल), अनन्त थापा (फुटबल), भरत शाह (भलिबल), ओङ्देन लामा (पौडी), जगत टमाटा (क्रिकेट) र मोन्टी देशाई (क्रिकेट) परेका छन् । वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडीलाई सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका प्रशिक्षक मनोनयनमा परेका हुन् ।

स्पोर्ट्स अवार्ड माघ २८ गते हुँदैछ । अवार्डअन्तर्गत तीन विधाको मनोनयन सार्वजनिक भइसकेको छ । यसपाली सर्टलिस्टको रुपमा वर्ष खेलाडी पुरुष र महिलाका समान आठ खेलाडी मनोनयनमा परेका छन् । सर्टलिस्टबाट तीन खेलाडी पुनः छानिने छन् । त्यसमध्येबाट अवार्ड कार्यक्रमको दिन विजेता घोषणा हुनेछ । पिपल्स च्वाइस विधाको मनोनयन पनि सार्वजनिक भइसकेको छ । मनोनयनमा रजनी श्रेष्ठ (बडिविल्डिङ), सिक्का सुवाल श्रेष्ठ (टेबल टेनिस), विप्वललाल श्रेष्ठ (कराते), अनन्त तामाङ (फुटबल) र निरुता ठगुन्ना (भलिबल) छन् ।