वीरगञ्ज भन्सारमा आयात प्रतिबन्धका करोडौं मूल्यका वस्तु फेला

१ सय ५० बढी कन्टेनरका सामान अवैध

2.7k
Shares

काठमाडौं ।

वीरगञ्जको भन्सारस्थित सुख्खा बन्दरगाहमा करोडौं मूल्यका अवैध वस्तु ल्याइएको पाइएपछि भन्सार विभागले ती वस्तुहरू नियन्त्रणमा लिएको छ।

भन्सार विभागले लामो समयदेखि त्यहाँ राखिएका ३ सय ९० कन्टेनरको परीक्षण गर्दा १ सय ५० भन्दा बढी कन्टेनरका सामानहरू अवैध किसिमले ल्याएको पुष्टि भएको हो।

यसरी ती कन्टेनरमा प्रतिबन्ध गरिएका र अवैध रूपमा ल्याइएका सुपारी, मदिरा, छोकडा, मरिचजस्ता वस्तुहरू फेला परेपछि ती सबै वस्तुलाई भन्सार विभागले नियन्त्रणमा लिई छानबिन थालेको थियो।

स्रोतका अनुसार केही व्यापारी र बिचौलियाले सेटिङ गरी ती सुपारी, मदिरा, छोकडा र मरिचहरू विभिन्न गन्तव्य स्थानतर्फ लैजान विभिन्नखाले प्रपञ्च गरिरहेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो।

अख्तियारले त्यस सम्बन्धमा छानबिन गर्न भन्सार विभागलाई निर्देशन दिएपछि भन्सार विभागले आक्रामक अनुसन्धान र कारबाही थालेको थियो।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले सुख्खा बन्दरगाहमा रहेका अवैध सामानहरू सबै बरामद गरिएको र तिनको लिलाम प्रक्रिया थालिएको जानकारी दिनुभयो।

सुख्खा बन्दरगाह भन्सार कार्यालयको यार्ड र गोदाममा विभिन्न पैठारीकर्ताले आयात प्रतिबन्ध रहेका र एउटा वस्तुलाई अर्कै भनी ल्याएर लुकाएका ती वस्तुहरू भन्सार विभागको सर्च टोलीले फेला पारेको थियो ।

विभागका शाखा अधिकृत मधु खनालको नेतृत्वमा रहेको टोलीले पहिलो चरणमा सन् २०१८ देखि थन्किएर रहेका ६० दिन नाघेका भन्सार गोदाम र यार्डमा रहेका करिब ३ सय ९० वटा कन्टेनर खोलेर परीक्षण थालेको थियो।

ती कन्टेनरमा आयात प्रतिबन्ध रहेका र उच्च भन्सार महसुल रहेका मदिरा, सुपारी, पोस्तदाना, छोकडा, केराउ, कपडा, फिड सप्लिमेट, टायर सिलेन्ट, फ्लोरिङलगायतका वस्तुहरू फेला परेको थियो।

भन्सार स्रोतका अनुसार सेटिङकर्ताहरूले अर्बौं रुपियाँका ती सामानहरू कर्मचारीसँग सेटिङ मिलाएर बाहिर निकाल्ने प्रपञ्च गरिरहेको अवस्थामा भन्सार विभागको कारबाहीपछि उनीहरूको सो प्रयास असफल भएको बताइएको छ।

भन्सारमा रहेका तीनवटा च्यानलमध्ये रेड च्यानलबाट बाहिर ननिकाली ग्रीन तथा पहेँलो च्यानलबाट ती सामानहरू बाहिर निकाल्ने प्रयास भइरहेको थियो।

भन्सार विभागले पनि वीरगञ्ज भन्सारस्थित गोदाममा ठूलो परिमाणमा राजस्व छलीका सुपारी, मदिरा, छोकडा र मरिच भएको अनुमान गर्दै त्यस सम्बन्धमा अनुसन्धान गर्न छानबिन टोली बनाएर छानबिन गर्दै आएको थियो।

विभागले सार्वजनिक सूचना नै जारी गर्दै वीरगञ्ज भन्सारमा रहेका मालसामानको स्वघोषणा गरी प्रक्रियामा आउन भनेको थियो।

त्यसको अटेर भएपछि विभागले सबै प्रक्रिया पुर्‍याएर करोडौं मूल्यका वस्तुको लिलाम प्रक्रिया थालेको जानकारी दिँदै विभागका महानिर्देशक पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अवैध वस्तुको लिलाम प्रक्रिया थालेका छौं, दोषीउपर कारबाहीसमेत हुनेछ। ’