नेताको टाउको जोडिएर मात्र एकता सम्भव छैन:  महासचिव पोखरेल

196
Shares

दोलखा। 

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा समाजवाद स्थापना गर्ने सङ्कल्प सहित नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेको भएपनि अवसरवादी तत्त्व हाबी भएका कारण त्यो सम्भव नभएको बताएका छन्  ।

नेकपा एमाले दोलखाको दशौँ जिल्ला अधिवेशन उद्घाटनको अवसरमा महासचिव पोखरेलले त्यतिबेला पार्टी एक्ताको नाममा तल्लो तहसम्मका कमिटी भङ्ग गरिएको तर एकता भएको तीन बर्ष बित्दासमेत नयाँ कमिटी निर्माण हुन नसकेकैले समस्या देखिएको बताए । महासचिव पोखरेलले भने– अहिले पनि केही मानिसहरुले पार्टी एकताको हल्ला गरिरहेका छन् तर अब नेताको टाउको जोडिएर मात्र एकता सम्भव छैन एकताको लागि कार्यकर्ताको मन जोडिनु पर्छ ।

महासचिव पोखरेलले अहिले मुलुकको हरेक क्षेत्रमा निराशा व्याप्त रहेको उल्लेख गर्दै  त्यसको अन्त्यको लागि नेकपा एमालेको शसक्त भूमिका आवश्यक हुने बताए । अहिले देशका युवाहरु विदेश पलायन भै रहेका छन्, व्यापार व्यवसाय चौपटक छ, मुलुक आर्थिक रुपमा सङ्कटग्रस्त छ, महासचिव पोखरेलले भने– यसको अन्त्यको लागि मुलुकमा एमालेको नेतृत्व आवश्यक छ ।

महासचिव पोखरेलले एमालेमा अहिले पनि अवसरवादी प्रवृत्ति समस्याको रुपमा रहेको उल्लेख गर्दै  त्यसको अन्त्य गर्दै मुलुकको नेतृत्व गर्ने सङ्कल्प सहित अघि बढ्नु पर्ने बताए ।

नेकपा एमाले दोलखाको दशौँ जिल्ला अधिवेशन आयोजक समितिका संयोजक नरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं दोलखा जिल्ला इन्चार्ज कमल चौलागाई, पोलिटब्युरो सदस्यहरु आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ, इश्वरी रिजाल, बागमति प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्य सरस्वती वस्नेत, रचना खड्का, आयोजक समितिका सह संयोजक राजेन्द्र मानन्धर, नेपाली कांग्रेसका केशव चौलागाई, नेकपा माओवादी केन्द्रका नरबहादुर पाख्रिन, नेकपा एकिकृत समाजवादीका अध्यक्ष भीम दाहाल लगायतको उपस्थिति रहेको थियो ।