सहकारीको रकम अपचलन गर्ने तामाङ दम्पतीलाई पौने ३ अर्ब जरिवाना, डेढ–डेढ वर्ष कैद

1.1k
Shares

काठमाडौं ।

सहकारीमा घोटाला गरी अवैध सम्पत्ति आर्जन गरेका सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण अभियोगमा पौने २ अर्ब र तीन वर्षको कैद सजाय गर्ने फैसला गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपियाँ बराबरको जरिवाना र १ वर्ष ६ महिना कैद सजाय तोकेको हो।

त्यस्तै, उनकी श्रीमती सिर्जना शाक्य तामाङलाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपियाँ जरिवाना र एक वर्ष ६ महिना कैद सजाय तोकिएको छ।

सिभिल सहकारी घोटालाकै अर्का अभियुक्त केशवलाल श्रेष्ठलाई २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपियाँ जरिवाना र डेढ वर्ष कैद सुनाइएको छ।

सहकारीको सम्पत्ति अपचलन गरी लगानी गरेको फेला परेको थियो। विशेष अदालतले मिना श्रेष्ठ, प्रतिष्ठा तामाङ र प्रतीक्षा तामाङका नाममा रहेको सम्पत्तिसमेत जफत गर्ने फैसला गरेको छ।

दोषी ठहर भएका व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा प्रतिवादीउपर कसुर ठहर भएमा पीडितको बिगो भराउने कार्यले नै प्राथमिकता पाउने आदेश पनि गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले इच्छाराज तामाङले ठगी गरेको अनुसन्धान गरी ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपियाँ ठगी गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो।

यसैबीच, क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीबाट ऋण लिई अपचलन गरेको आरोपमा फरार प्रतिवादी मन्दिरा के.सी. (कार्की) लाई प्रहरीले पक्राउ गरेको छ।

घराना डेभलपर्स प्रा.लि.लाई ऋणी बनाई सोही प्रा.लि.का नाममा दर्ता रहेको जिल्ला भक्तपुर चाँगुनारायणस्थित जग्गा धितो राखी प्राप्त गरेको कर्जा तोकिएको परियोजनामा लगानी नगरी दुरुपयोग गरेको भन्ने बैंकिङ कसुर मुद्दामा साविक पुनरावेदन अदालत पाटनको मिति २०७१ वैशाखमा काभ्रेपलान्चोक बनेपा निवासी घराना डेभलपर्स प्रा.लि.का सञ्चालक मन्दिरालाई तीन वर्ष कैद र चार करोड रुपियाँ जरिवाना गर्ने फैसला गरेको थियो।