काठमाडौँ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्को रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।
अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेहरूका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएको तर्फ पनि पार्टीका सांसदहरूलाई सचेत गराए। आइतबार पार्टी संसदीय दलको बैठक समापन गर्दै उनले संसदमा गलत कुराको सख्त आलोचना र विरोध गर्न पनि पार्टीका सांसदहरूको ध्यानाकर्षण गराए।
गल्ती बोल्नेका कुरा संसदमा विरोध गरे पुग्ने भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको ओलीको भनाई थियो। अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेले त्यसलाई रेकर्डबाट हटाईपाउँ भन्नु स्वाभाविक हुने भएपनि अरूले उसको गल्ती सच्याइदिने काम गरिरहन नपर्ने बताए।
‘कहिले, कहिले हामीलाई कस्तो लाग्छ भने म जत्तिको मानिसलाई किन प्रशिक्षण चाहिन्छ? मैले नबुझेर के छ र? भन्ने लाग्न सक्छ। म आफैँ पार्लियामेन्टमा यत्रो वर्षदेखि छु, यति कार्यकालदेखि छु भन्ने पनि लाग्न सक्छ। म आफैँले काम सञ्चालन गरिराखेको छु भन्ने पनि लाग्न सक्छ। तर कतिपय प्राविधिक विषयहरू, कतिपय वैचारिक विषयहरू, वैचारिक विषयहरूमा पनि स्पष्टता झन् बढी झन् स्पष्टताको आवश्यकता पर्दछ। तसर्थ, अझ प्राविधिक विषयहरू, के, कस्ता प्रस्ताव कसरी राख्ने हो, नियमापत्ति कसरी गर्नुपर्ने हो, कस्ता विषयमा गर्नुपर्ने हो? उनले भने,’एउटा हामीहरूको अक्सर चलन छ–त्यो रेकर्डबाट त्यो शब्द हटाइयोस् भन्ने। मेरो विचारमा रेकर्डबाट गल्ती बोल्नेका शब्दहरू हटाउन लगाउनु जरुरी छैन। त्यो मान्छे के छ भन्ने परिचय कायम रहन दिनुपर्छ। विरोध गर्नुपर्छ त्यसको। तर रेकर्डबाट हटाइयोस् भन्न चाहिँ पर्दैन क्या। रेकर्डबाट हटाइयोस् भन्ने उसले माग गर्नुपर्ने हुन्छ नि मलाई भन्नुहुन्छ भने। हामीले गलत बोल्यो, रेकर्डबाट हटाईपाउँ भनेर त्यो रेकर्डबाट हटाएर राम्रो, राम्रो बोलेको मात्रै राखिदिने, नराम्रो बोलेको नराख्ने। अगतिलो मान्छे रहेछ भन्ने लुकाइदिने किन गर्नुपरेको छ र ? त्यसकारण गलत कुराको सख्त आलोचना गर्नुपर्छ, विरोध गर्नुपर्छ। हामीले विरोध गरेपछि पुगिहाल्यो नि। हामीले अस्वीकार ग¥यौ, विरोध ग¥यौं त्यसको। पुग्यो। तर रेकर्डबाट हटाइयोस् भनेर माग्ने चलन छ नि। त्यो चाहिँ मैले यो कुरा गल्ती बोलेछु सभामुख महोदय, रेकर्डबाट हटाई पाउँ भनेर निजले भन्दाखेरी एउटा कुरा हो। अर्काले उसको गल्ती किन सच्याइदिने?’











प्रतिक्रिया