बलात्कार आरोपमा प्रहरीका पूर्वसई यादव पक्राउ

14
Shares

काठमाडौँ।

नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) अनिरुद्र यादव बलात्कार आरोपमा पक्राउ परेका छन् ।

कलंकीमा आमा घरमा नभएका बेला १७ पुसमा बेलुकी ८ बजेतिर कोठामा आएर बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो ।

पीडितले जाहेरीमा उल्लेख गरेअनुसार, आरोपी यादवले कोठा ढक्ढक्याएर पानी मागेको र त्यसपछि भित्र प्रवेश गरेर आफ्नो कोठामा नफर्की बसेका थिए ।

प्रतिवाद गर्न खोज्दा थप त्रासमा पारेर बल प्रयोग गरेर जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ । त्यसको जानकारी परिवार वा अरु कसैलाई दिए मार्ने धम्की समेत दिएको उनले भनेकी छन् ।

अर्को दिन बेलुकी पनि बन्दुकको गोली देखाएर पुनः जबर्जस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख गरेको प्रहरीले जानकारी दिएको छ ।

जाहेरीका आधारमा पक्राउ गरेर सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिँदा भने पूर्व सई यादवले इन्कारी बयान दिएका छन् । उनले पीडितकी आमासँग आफू सम्बन्धमा रहेको बताउँदै पीडितलाई आफ्नो छोरी जस्तै मान्ने गरेको दाबी गरेका छन् ।

प्रहरीले भने अनुसन्धानपछि पीडितको स्वास्थ्य जाँच प्रतिवेदन समेत समावेश गरेर बलात्कार गरेको पुष्टि हुने निष्कर्षसहित रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ ।

सरकारी वकिलले जिल्ला अदालत, काठमाडौंमा जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गराएको छ ।

आरोपी यादवले १ पुस २०७६ मा प्रहरीबाट राजीनामा दिएका थिए । र, हाल निजी कम्पनीमा सुरक्षागार्डका रुपमा काम गर्दै आएका छन् ।