आन्तरिक उत्पादन बढाउनेतर्फ सोचौँ



काठमाडौं ।

चालू आर्थिक वर्षको पहिलो छ महिनामा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख रुपियाँ व्यापार घाटा भएको छ। अर्थात् हरेक महिना औसत सवा खर्बको व्यापार घाटा भएको भन्सारको तथ्यांक छ।

भन्सारको तथ्यांकलाई विश्लेषण गर्दा चालू आर्थिक वर्षमा १५ खर्ब रुपियाँको हाराहारीमा व्यापार घाटा हुने संकेत गर्दछ। आँकडा नेपालको झण्डै वार्षिक बजेटको हाराहारीमा हो।

वैदेशिक व्यापारमा नेपाल पहिलेदेखि नै कमजोर रहँदै आएको छ। पछिल्ला केही वर्षयता घटबढ हुँदै आए पनि समग्रमा नेपालको वैदेशिक व्यापार ऋणात्मक नै छ।

पछिल्लो छ महिनामा ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख रुपियाँको वैदेशिक व्यापार हुँदा ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाखको आयात र ७४ अर्ब ९६ करोड ८० लाख रुपियाँको मात्रै निर्यात भएको छ। यो तथ्यांकले नेपालमा आयात र निर्यातबीच धेरै ठूलो खाडल रहेको तथ्यलाई उजागर गरेको छ।

त्यसो त गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ३ दशमलव शून्य ९ प्रतिशतले घटेको छ । त्यससँगै निर्यात पनि ७ दशमलव २३ प्रतिशतले घटेको छ।

नेपालमा उत्पादन बढेर वा नेपालमा आवश्यक वस्तु तथा सेवा स्वदेशमा नै आपूर्ति भई आयात घटेको भन्दा पनि विश्वभर नै आर्थिक संकटको बादल मडारिँदा नेपालमा पनि आयात घटेको हो ।

यसलाई निर्यातको आँकडा घटेको पृष्ठभूमिले पनि प्रमाणित गर्दछ। नेपालले समग्र विश्व बजारमा करिब ७५ अर्ब रुपियाँको वस्तु तथा सेवा निर्यात गर्दा त्योभन्दा बढी पेट्रोलियम पदार्थको आयात गरेको देखिन्छ।

नेपालले त्यस अवधिमा ६६ अर्ब ४९ करोड ११ लाख बराबरको डिजेल, ३३ अर्ब ९१ करोड ९६ लाख बराबरको पेट्रोल, २५ अर्ब ४५ करोड बराबरको खाना पकाउने ग्यास आयात गरेको छ।

नेपालले विभिन्न देशमा यहाँको उत्पादन बेचेर जम्मा गरेको रकमले डिजेल खरिद गर्न मात्रै पुग्ने स्थिति छ। जसले गर्दा नेपालको अर्थतन्त्रलाई सधैं समस्याले घेर्दै आएको छ।

नेपालले भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोड ४१ लाखको आयात गर्दा ५० अर्ब ४४ करोड २२ लाख रुपियाँको मात्रै निर्यात गर्दा ४ खर्ब २४ अर्ब ४४ करोड ८९ लाख रुपियाँबराबरको व्यापार घाटा छ।

त्यस्तै, चीनसँग १ खर्ब ४५ अर्ब ७९ करोड १ लाख १५ हजार, संयुक्त अरब इमिरेट्ससँग १२ अर्ब २६ करोड, युक्रेनसँग ९ अर्ब ९६ करोड र मलेसियासँग ८ अर्ब ६० करोडको व्यापार घाटा छ। उल्लिखित तथ्यांकले नेपालको आयातको आँकडा अझै केही वर्ष घट्नेभन्दा पनि बढ्न सक्ने संकेत गर्दछ।

ठूलो श्रमशक्ति विदेशिँदा आन्तरिक उत्पादन अत्यन्तै न्यून रहेको छ। नेपालमा नै उत्पादन गरी आपूर्ति व्यवस्थालाई सन्तुलन बनाउन सकिने कृषि उपज पनि विदेशबाट आयात हुँदै आएको छ।

औद्योगिक उत्पादनमा वृद्धि गर्न समय लाग्ने भए पनि कृषि उपजलाई बढाउन सकियो भने आयातको आँकडा घट्ने निश्चित छ । यसमा सरकारलाई मात्रै दोष दिनेभन्दा पनि हामी जनताले पनि ध्यान दिन जरुरी छ।

प्रतिक्रिया दिनुहोस्