अदालतले पुष्टि गरे चौधरीले जग्गा फिर्ता गर्ने

420
Shares

काठमाडौं ।

उद्योगी एवम् व्यवसायी अरुणकुमार चौधरीले अदालतबाट कानुन विपरीत रहेको ठहरिएमा आफू जग्गा फिर्ता गर्न तयार रहेको बयान दिएको अनुसन्धान अधिकृतहरूले जानकारी दिएका छन्।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार पक्राउ गरेको छ।

जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरुले चौधरीसँग बयान लिएका हुन्। अनुसन्धान टोलीले चौधरीसँग शनिबारसम्म पहिलो चरणको बयान सकाएको स्रोतको भनाइ छ।

‘अहिले पहिलो चरणको बयान सकिएको छ। आवश्यक परे पूरक बयान लिन सकिन्छ।’ स्रोतले भन्यो–‘अदालतमा कानुन विपरीत जग्गा लिएको पुष्टि भए फिर्ता गर्न तयार रहेको भन्ने बयान आएको छ।’

अदालतबाट चौधरीलाई चार दिन थुनामा राख्न अनुमति दिएको हुँदा आइतबारसम्म अदालतमा मुद्दा पेस गर्ने तयारी प्रहरीको छ।

चौधरीलाई पक्राउ गरिएको घटनालाई लिएर निजी क्षेत्रबाट व्यापक विरोध आएको छ। सरकारले उद्योगी व्यवसायीलाई हतारिएर थुन्ने कार्यशैलीलाई सुधार गर्नुपर्ने उनीहरुको भनाइ छ।

पक्राउ गर्नुअघि अनुसन्धानका लागि नबोलाई प्रतिष्ठित उद्यमीलाई पक्राउ गर्दा राज्यले एक व्यवसायीलाई मात्रै नभएर सिंगो निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा पक्राउ गरेको निजी क्षेत्रको भनाइ छ।

चौधरीको पक्राउले सम्पूर्ण उद्योगी व्यवसायीको मानमर्दन भएको भन्दै अदालतबाट अभियोग प्रमाणित भई पक्राउ गरेको भए विरोध गर्ने अवस्था हुँदैनथ्यो।

आरोप प्रमाणित नहुँदै सामाजिक सञ्जाल र मिडियामा वाहवाही कमाउन व्यवसायीलाई थुन्ने काम भएको भन्दै निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघले आपत्ति जनाएका छन्।