योग्य उपकुलपति छनोटमा बिलम्ब नगर



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दरखास्त दिएको ३ हप्ता भइसकेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा गठित ३ सदस्यीय सर्च कमिटीले मापदण्डअनुसार सटलिस्टिङ गरिरहेको जनाएको छ।

४३ जनाले आवेदन दिएका छन्। हालसम्म कति जनाको सटलिस्टिङ भयो जानकारी छैन। अहिलेको अवस्थामा तत्काल उपकुलपति छनौट गर्नु आवश्यक छ।

बिलम्ब गरेर एकैजनालाई ३ महिने उपकुलपति नियुक्ति गर्नु उपयुक्त हुँदैन। यसअघि त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले कात्तिक १७ गते ३ महिनाका लागि शिक्षाध्यक्ष प्राडा शिवलाल भुषाललाई उपकुलपति नियुक्ति गर्नुभएको थियो।

फेरि यही १७ गते भुषाललाई नै फेरि ३ महिने उपकुलपतिको जिम्मा दिनुभएको छ। हुन त उपकुलपति चयन नभएसम्मका लागि भुषाललाई दुईपटक तीनमहिने उपकुलपतिको जिम्मा दिइएको हो।

केही दिनको लागि मात्र उपकुलपतिको जिम्मा दिनु उपयुक्त हुन्थ्यो। तर, फेरि बढीमा ३ महिनासम्मका लागि फेरि नियुक्ति गरेपछि कुलपतिको नियतमाथि प्रश्न उठेको छ।

कुलपतिले सर्च कमिटीलाई चाँडै नै उपकुलपति सिफारिस गर्न निर्देशन दिनुपर्ने अवस्थामा तीन महिनाको लागि पुरानै उपकुलपतिको जिम्मा दिनु गलत मनसाय हो।

यसले विगतको परम्परालाई खिल्ली उडाएको छ। हुन त कुलपतिको निर्देशनमा सरकारले पहिलोपटक खुला प्रतिस्पर्धाबाट उपकुलपति छनौट गर्ने व्यवस्था गरेको छ ।

सो व्यवस्थालाई कार्यान्वयन गर्न उपकुलपति छनौट समितिले चाँडोचाँडै प्रक्रिया अघि बढाउनुपर्छ । समितिले शुरूमा मापदण्डअनुसार नम्बर दिनेछ । त्यसपछि १५ जनाको नाम सर्ट लिस्टिङ गर्नेछ । छनौटमा परेका उम्मेदवारले व्यवसायिक र सोचपत्र प्रस्तुत गर्नेछन्।

सबै प्रक्रिया पूरा भएपछि समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । तीन जनामध्ये कुलपतिले एकजना उपकुलपतिमा नियुक्ति गर्ने प्रावधान छ।

यही अवस्थामा सबै प्रक्रिया पूरा गर्न महिनौँ लाग्न सक्छ । समितिले काम भइरहेको जनाएको त्यसमा पनि आफ्नो पार्टी निकटलाई नियुक्ति गर्ने कि उत्कृष्ट सोचपत्र र व्यावसायिक कार्ययोजना बनाएर उत्तीर्ण भएकालाई उपकुलपति नियुक्ति गर्ने भन्ने विषय जटिल छ।

आवेदन दिनेमध्ये अधिकांश नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र निकट प्राध्यापक छन् । केहीमात्र स्वतन्त्र उम्मेदवार देखिएको छ।

कार्यविधि अनुसार उपकुलपति छनौट गर्न सके त्रिविले उत्कृष्ट उपकुलपति पाउने छ। तर, राजनीतिक आडमा पार्टीनिकट छनौट भएमा त्रिविमा राजनीतिक हस्तक्षेप बढेको हुनेछ।

उपकुलपति छनौट गर्दा स्वतन्त्र व्यक्ति छान्ने प्रधानमन्त्रीको आडानलाई मान्नै पर्छ तर उहाँको भनाइ र गराइमा कतिको फरक हुन्छ।

कुलपति स्वयंको परीक्षाको विषय प्राध्यापक पदमा कार्यअनुभवमा १०, विद्यावारिधि उपाधिमा ५, स्वदेशी वा विदेशी विश्वविद्यालय वा प्रतिष्ठानको पदाधिकारीको अनुभव हालिस गरेकोमा ४, प्राज्ञिक एवं अनुसन्धानमूलक पुस्तक प्रकाशन गरेबापत ५ अंक दिने मापदण्डमा उल्लेख छ।

सोचपत्र र चारवर्षे व्यावसायिक कार्य योजनाबापत ३५, प्रस्तुतीकरणमा २० र अन्तर्वार्तामा १५ अंक छुट्याइएको छ।

सो अंक चढाएपछि बढी अंक ल्याउने १५ जनालाई सर्टलिस्टमा प्रकाशन गरिने छ। सर्च कमिटीलाई आवश्यक ठानेमा व्यावसायिक र सोचपत्रको मूल्याङ्कन गर्न विज्ञ समूह गठन गर्नसक्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्