सृष्टि मिसेस नेपाल क्यानडा

14
Shares

काठमाडौं ।

क्यानाडाको इतिहासमै पहिलोपटक भव्यता साथ मिसेस नेपाल क्यानडा सम्पन्न भएको छ।

नेप्लिज फेसन होम नेपाल र महिला शिक्षा तथा क्षमता विकास समूह क्यानाडाको संयुक्त आयोजनामा क्यानाडामै पहिलोपटक क्यानडामा बस्दै आएका विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा हालै भव्यरूपमा सम्पन्न भएको हो।

क्यानडाको ब्रयमटम इस्प्रेनजा ब्याक्वेट हलमा सम्पन्न प्रतियोगितामा सृष्टि श्रेष्ठ मिसेस नेपाल क्यानडाको ताज चुम्न सफल भएकी छन्।

प्रतियोगिताको अन्तिम प्रस्पिर्धाका उत्कृष्ट ६ लाई सोधिएको ‘संसारमा केको कमी छ’ भन्ने निर्णायक प्रश्नमा ‘आजको संसारमा अरुको भावना र अनुभवलाई महशुस गर्ने क्षमताको कमी छ। हामी एक–अर्काको अन्तर सम्बन्धमा नै विभाजित हुँदै गरेको संसारमा बस्छौं। हिजोआज जहाँ समझदारी र करुणा धेरै पछाडि छ। सहानुभूतिको संस्कृतिलाई बढावा दिएर हामीले एउटा यस्तो ठाउँको सिर्जना गर्नुपर्छ, जहाँ सबैले सुन्न, बुझ्न र स्वीकार गर्न, महसुस गर्न सकोस्’ भन्ने सटिक जवाफ दिँदै सृष्टिले प्रमुख उपाधिको ताज चुमेकी हुन्।

उनले प्रमुख उपाधिका साथमा मिसेस फ्रेन्डसिपको उप–उपाधिलाई पनि आफ्नो बनाएकी छन्। दश विवाहित सुन्दरीले अन्तिम स्पर्धामा प्रतिस्पर्धा गर्ने अवसर पाएको प्रतियोगितामा अलिशा राजभण्डारी फस्ट रनर्सअपका साथमा फोटोजेनिक र रश्मी थापा मगर सेकेन्ड रनर्सअप भएका छन्।

क्यानडावासी नेपालीले खचाखच भरिएको हलमा चमक दमकका साथ सम्पन्न प्रतियोगितामा यमी कर्माचार्य ट्यालेन्टेड र श्यामा लिम्बू पब्लिक च्वाइस अवार्डका विजेता भए।

कार्यक्रममा नमुना फेसन कलेजले तयार पारेको सुन्दर डिजाइनर पोसाकमा सजिएर र्‍याम्पमा प्रस्तुत भएका सुन्दरीहरूलाई कार्यक्रमका सहभागीहरूले भव्य ताली र हुटिङबाट स्वागत र प्रोत्साहित गरेका थिए। नेपालका लागि क्यानडाकी कार्यवाहक राजदूत रोजिना ताम्राकारको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रोफेसर नीरा शर्मा, डा. संगीता धौवडेल, सुभेक्षा भट्ट र निलु केशरी निर्णायक रहेका थिए।

कार्यक्रममा महिला शिक्षा तथा क्षमता विकास समूह क्यानाडाकी अध्यक्ष चन्दा श्रेष्ठले क्यानडामा रहेका विवाहित सुन्दरीहरूलाई एकत्रित गर्दै उनीहरूमा महिला सशक्तीकरण, आत्मविश्वास अभिवृद्धि र अन्तर्निहित प्रतिभा प्रदर्शन गर्नका लागि मिसेस नेपाल क्यानडाको सुरुवात गरिएको बताइन्।

त्यस्तै, नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले यही प्रतियोगिताबाट आफ्नो संस्थाको अन्तर्राष्ट्रिय प्रतियोगिताको थालनी भएको बताइन्। उनले यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिने जानकारी पनि गराइन्।