कुष्ठरोगमुक्त समाज निर्माणमा ध्यान देऊ



काठमाडौं ।

विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस २०२४ ‘उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण’ भन्ने नाराका साथ नेपालमा मनाइएको छ।

दिवसको मुख्य उद्देश्य कुष्ठरोग लागेका व्यक्तिलाई समाजले हेर्ने, बुझ्ने र त्यसको बारेमा जनचेतना जगाउनु नै हो। उपेक्षित उष्णप्रदेशीय रोग भनेको के हो भन्ने बारेमा बुझाउँदै कुष्ठरोग समयमै उपचार गरे निको हुन्छ भन्ने जनचेतना जगाई अघि बढ्ने लक्ष्य सरकारले लिनु सकारात्मक पक्ष हो।

कार्यक्रममा कुष्ठरोग निवारणका क्षेत्रमा काम गर्दै आएका संघसंस्था, सरोकारवाला निकाय, कुष्ठ प्रभावित व्यक्ति र सञ्चारकर्मीहरूका माझ उपेक्षित २१ किसिमका रोगहरूको समूहभित्र पर्ने रोगको नाम सार्वजनिक गरिएको थियो। कार्यक्रममा रोगहरूले विश्वव्यापी रूपमा १ अर्बभन्दा बढी मानिसहरूलाई असर पर्ने गरेको डरलाग्दो तथ्यांकका बारेमा चर्चा गरिएको थियो ।

रोग लाग्नुको कारण र स्रोतसमेत प्रस्ट्याउनु सकारात्मक हो। दिवसमा अझ गरिबीको रेखामुनि रहेका नेपाल जस्ता मुलुकका मानिसहरू बढी जोखिममा रहने गरेको स्पष्ट पारिएको थियो। उपेक्षित कुष्ठरोगजस्ता रोगहरू अझै पनि समुदायमा सामाजिक बहिष्करणसँग जोडिएको छ।

कार्यक्रममा यी रोगहरूका कारण गरिबीको रेखामुनि रहेका मानिसहरू अझ गरिबीको दुश्चक्रमा धकेलिएको उदाहरणका रूपमा कुष्ठ प्रभावित व्यक्तिहरूको जनजीवनलाई औंल्याइएको थियो।

विश्व स्वास्थ्य संगठनले सूचीकृत गरेका २१ ओटा उपेक्षित उष्णप्रदेशीय रोगहरू उपेक्षित रोग भएको प्रस्ट पारी सरकारले जनचेतनामा जोड दिनुपर्छ।

सन् २०२० देखि हरेक वर्ष जनवरी ३० मा मनाइँदै आएको उपेक्षित रोगका बारेमा निकै ढिला ४ वर्षपछि प्रस्ट रूपमा बुझाइएको छ। तर, आगामी दिनमा उपचारमा भने यस्तो ढिलाइ गर्नुहुँदैन।

यो दिनलाई उपेक्षित उष्णप्रदेशीय रोगहरूको नियन्त्रण, निवारण र उन्मूलनका लागि बढ्दो गतिलाई समर्थन गर्दै साझेदारहरूलाई एकजुट गर्न सबैलाई आह्वान गर्ने अवसरका रूपमा लिइएकाले सहयोगी दाता र सरोकारवाला निकाय एकै थलोमा बसेर कार्यक्रम गर्नुका साथै सरकारले दिगो योजना पनि अघि सार्नुपर्छ।

यस्ता कार्यक्रमले मूर्त रूप पाए सन् २०३० को दिगो विकास लक्ष्य हासिल गर्नसमेत सहयोग पुग्ने विश्वास गर्न सकिन्छ। दिवसका नाममा वर्षमा एकपटक औपचारिकता निर्वाह गर्ने गलत परिपाटीको अन्त्य गरी हरेक दिनलाई विशेष दिन बनाइनुपर्छ।

जसरी ७१ औं विश्व कुष्ठरोग दिवस ‘कुष्ठरोगसम्बन्धी गलत अवधारणाको अन्त्य गरौं, मर्यादित व्यवहार गरौं’ भन्ने नारासहित मनाइयो व्यवहारमा पनि कुष्ठ प्रभावितलाई सम्मानजनक रूपमा व्यवहार गर्ने वातावरण बनाउनु अपरिहार्य छ। यतिमात्र नभई सरकारले नयाँनयाँ कुष्ठप्रभावितलाई समयमै उपचारको पहुँचमा पुग्ने वातावरण तत्काल बनाउनुपर्छ।

अझै पनि विश्वभर कुष्ठरोगबाट धेरै व्यक्तिहरू प्रभावित छन्। नेपालमा वि.सं. २०६६ सालमा राष्ट्रिय स्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रूपमा पहिचान हुँदा प्रति १० हजार जनसंख्यामा १ भन्दा कम बिरामी थिए।

हाल १४ जिल्लाहरूमा कुष्ठरोगप्रति १० हजार जनसंख्यामा १ भन्दा बढी बिरामी छन्। हरेक वर्ष २५०० देखि ३००० को हाराहारीमा नयाँ बिरामी पत्ता लाग्नु चुनौतीको विषय बन्दैछ।

कुष्ठप्रभावित व्यक्तिहरूले लान्छना, भेदभाव र स्वास्थ्य सेवामा पहुँचको अभावको सामना गरिरहेका छन्। यसलाई रोकी कुष्ठरोग अन्त्य गर्न सरकार तथा सबै सरोकारवाला निकायको सामूहिक अभियान जरुरी छ।

कुष्ठरोग मुक्त समाजका लागि शून्य कुष्ठरोगको कार्ययोजना तथा रणनीतिसहित नेपाल सरकार क्रियाशील हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्