मधेशमा के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र शाह ? 

0
Shares

वीरगन्ज ।

एक थरीले नेपालमा सक्रिय राजतन्त्रको पक्षमा वकालत गरिरहेको अवस्थामा २०६५ साल जेठ १५ गतेपछि पूर्वराजा भएका ज्ञानेन्द्र शाह अहिले मधेशमा छन्।

वीरगन्ज पथलैया सडक खण्ड अन्तर्गत बाराको सिमरामा सडक नजिकै रहेको एक आफन्तको घरमा विगत एक महिनादेखि पूर्वराजासहित राज परिवारका केही सदस्यहरू बसिरहेका छन्।

सिमरामा बसेका शाहले बेला-बेला आफू मधेशमा रहेको जनाऊ समेत दिइरहेको देखिन्छ। कहिले जनकपुर त कहिले वीरगन्ज तथा सिमरा आसपास तथा हेटौंडामा भएका कार्यक्रममा पनि उनी देखिने गरेका छन्।

पूर्वराजा शाहका बारा र पर्सामा मात्रै एक दर्जन बढी कार्यक्रममा सहभागी भएका छन् भने गएको शनिबार वीरगन्जमा नागरिक अभिनन्दन भनेर शाहलाई सम्मान पनि गरिएको थियो।

मानिसहरुको बाक्लै उपस्थितिमा भएको भनिएको कार्यक्रममा शाहले दरबार हत्याकाण्डका विषयमा पनि बोलेका थिए। आफूलाई दरबार हत्याकाण्डमा जोडिदिएको भन्दै उनले यसमा चिन्ता सहित आक्रोश समेत पोखे। उमेरले करिब आठ दशकको हाराहारीमा पुगेका शाहले मधेशमा गरिरहेको भेटघाट तथा राजनीतिक गतिविधिलाई धेरैले राजतन्त्र पुनः फर्काउने चाहनामा शाह रहेको पनि बुझेका छन्।

अहिले सिमरामा रहेका पूर्वराजालाई माओवादीकै समेत केही नेताले भेटेको पाइएको छ तर उनीहरूले राजाको योजना बुझ्नका लागि भेटेको अघोषित रुपमा बताएका छन्।

गणतन्त्रवादी भनिएका तल्ला तहका नेता कार्यकर्ताले पनि  शाहलाई भेट्न गएको पाइएको छ। राजाले नागरिक भेटघाट,छलफल गर्न पाएपनि गणतन्त्र विरोधी हर्कत गर्ने अधिकार नभएको र उनले जति तिडरम गरे पनि अब राजा भने नेपालमा नफर्कने शीर्ष नेताहरूले बताउँदै आइरहेका छन्।