आज शहिदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहीदहरूले देखेका सपना र उनीहरूले गरेको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन्।

शहीद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहीदहरूले उच्च बलिदान गर्नुभएको छ। राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन्।’

शहीदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने प्रचण्डको भनाइ छ। उनले शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे।

जहानीया राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ती वि.सं. १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्ने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतका शहीदको उनले स्मरण गरे।

सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्दछु।’

प्रत्येक वर्ष माघ १६ मा शहीद दिवस मनाइँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्