झगडा सुल्झाउन खोज्दा उल्टै कुटिए प्रहरी

0
Shares

काठमाडौं ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थानीय युवाको समूहले ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेका छन्।

इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का स्थानीय युवाको आक्रमणबाट घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आइतबार साँझ बाँफिकोट–३ स्यार्पु ताल नजिकै स्थानीयबीच भएको विवादबारे बुझ्न पुगेका शाही र खड्कालाई स्थानीयले आक्रमण गरेका हुन्।

घटनास्थलमा पुगेर सम्झाइ–बुझाइ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएको खड्काले बताए। आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ।

घाइते प्रहरीलाई गएराति नै जिल्ला अस्पताल सल्लेमा सामान्य उपचार गरी थप उपचारको लागि नेपालगञ्ज लगिएको छ। प्रहरीलाई आक्रमण गर्ने युवा फरार छन्।