कुटपिट प्रकरणका दोषीमाथि कारबाही गर



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार प्रहरी र कर्मचारीको विवादमा उनीहरू एकआपसमा कुटपिटमा उत्रनु देशकै लागि लज्जाको विषय हो। प्रहरी र कर्मचारी दुवै राष्ट्रसेवक हुन्।

राष्ट्रसेवक बीचमा नै त्यसरी विवाद भएर कुटाकुटको अवस्था आउनुले दुवै पक्षको साख गिरेको छ। तर, यो घटनामा शुरूमा कर्मचारी र प्रहरी दुवैको हठका कारण घटना घट्न पुगे पनि पछि प्रहरीले अध्यागमन कार्यालयका प्रमुख सहसचिवमाथि फेरि कुटपिट गर्नुले घटनामा प्रहरी बढी नै उत्तेजित र उद्दण्ड भएको प्रष्ट बुझ्न सकिन्छ।

पहिलो घटनामा सुरक्षा चेकजाँचमा अध्यागमन अधिकृतले प्रहरीसँग हठ देखाएको र प्रहरी पनि उग्र हुँदा अप्रिय घटना घट्न पुगेको थियो।

अध्यागमन अधिकृतले चेकजाँचलाई सहज रूपमा लिएको भए पनि केही बिग्रदैन थियो । फेरि प्रहरी जवान र अध्यागमन अधिकृतबीच विवाद भइरहँदा थपिएको असईलगायतको प्रहरीको समूहले विवादलाई शान्त गराउनुपर्नेमा उल्टै आगोमा घिउ थप्ने काम गर्दा स्थिति असामान्य भएको थियो।

असई नेतृत्वको समूह आएपछि घट्नाले उग्र रूप लिएको सजिलै देख्न सकिन्छ। त्यसैले यो घटनाको मुख्य दोषी तिनै असई हुन् र उनीमाथि कारबाही गर्नुपर्छ।

यतिमात्रै होइन घटना घटेपछि सो घटनाको बारेमा सत्यतथ्य बुझ्न सीसीटिभी फुटेज हेर्न पुग्नुभएका अध्यागमन कार्यालयका प्रमुख सहसचिव गोगनबहादुर हमालमाथि समेत उनै असईको नेतृत्वको प्रहरी टोलीले हातपात गर्नुले प्रहरी चेनअफ कमान्डमा नरहेको प्रष्ट बुझ्न सकिन्छ।

कर्मचारीहरूले पनि सुरक्षा संवेदनशीलतालाई विशेष ध्यान दिँदै मपाइँत्व प्रदर्शन गर्नुहुँदैन । यही घटनालाई लिएर प्रहरी र कर्मचारीहरू पक्ष विपक्षमा उत्रिएर एकले अर्काको तेजोबध गर्ने काम छोड्नु पर्छ।

सो घटनापछि प्रहरी र कर्मचारीको पक्ष विपक्षमा विभिन्न खाले टीकाटिप्पणी भइरहेको छ । यस्ता टीकाटिप्पणी हुनु नै गलत हो । दुवै राष्ट्रसेवक कर्मचारी भएकाले सच्चिनु अहिलेको आवश्यकता हो। यस्तो अवस्थामा धमिलो पानीमा माछा मार्ने प्रयास कसैले पनि गर्नुहुँदैन।

निष्पक्ष विश्लेषण गर्ने हो भने कर्मचारी र प्रहरी दुवैको काम कारबाहीबाट आमजनता सन्तुष्ट छैनन्। यो घटनामा त अध्यागमन अधिकृत नै कुटिएर पीडित हुँदासमेत् कर्मचारीमाथि जनस्तरमा सहानुभूति पलाउन नसक्ने अवस्था आएको छ।

आमकर्मचारीले यो अवस्था किन र कसरी आयो भनेर गम्भीर समीक्षासमेत गर्न जरुरी छ। प्रहरीले पनि बर्दी छ भन्दैमा दादागिरी बन्द गर्नुपर्छ।

यद्यपि, घटनाको बारेमा छानबिन गर्न गृहमन्त्रालयले उच्चस्तरीय छानबिन समिति बनाएकाले सो समितिले घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीमाथि कारबाहीको सिफारिस गर्ने नै छ।

समिति कर्मकाण्डीमा सीमित हुनुहुँदैन। समितिले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको सिफारिस नगर्ने र कारबाही पनि हुन नसकेमा आगामी दिनमा समेत मुलुकको बेइज्जत हुने गरी त्यस्ता घटनाहरू भई नै रहने अवस्था आउन सक्छ। त्यसैले पनि दोषीउपर कडा कारबाही हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्