इन्जिनियर र सेवाग्राहीविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागमा करारमा कार्यरत इन्जिनियर प्रदीप भट्टराई र एक सेवाग्राहीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणका लागि खटाइएका ई. भट्टराईले राहदानी बनाएवापत सुमी धामी भन्ने सुमित्रा सापकोटाबाट ३४ हजार रुपियाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो।

प्रवक्ता घिमिरेका अनुसार सुमित्राले घुस/रिसवत लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन गरेको पुष्टि भएकाले उनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएकोे हो।

सुमित्रालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ‘घ’ को उपदफा (४) बमोजिमको कसुरमा र प्रतिवादी ई. भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ३४ हजार रकम कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

त्यसै गरी आयोगले प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ।

कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस माग गरेको अभियोगमा आयोगले सो मुद्दा दायर गरेको हो।

आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक भण्डारीलाई सेवाग्राहीबाट ८ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा गत पुस २५ गते नियन्त्रणमा लिइएको थियो।

निज भण्डारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ‘घ’ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो आठ हजार रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को बमोजिम मुद्दा दायर गरिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्