आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्वपूर्ण : गृहमन्त्री श्रेष्ठ

0
Shares

काठमाडौं ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ।

सिल्क रोड इन्टरनेसनल थिङ ट्यांक एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा सांस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पूर्वाधार नेपाल–चीन सहकार्यका आधारस्तम्भका रूपमा रहेको बताउनुभयो।

उपप्रधानमन्त्री श्रेष्ठले सडक, पुल र ऊर्जालगायत ठूला परियोजनाबाट बढाइएको ‘कनेक्टिभिटी’ले द्विपक्षीय सम्बन्धलाई मात्र बलियो बनाउनका साथै क्षेत्रीय सहयोग र आपसी एकतामा पनि महत्वपूर्ण टेवा दिएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘दुई मुलुकबीच आपसी सम्बन्ध अभिवृद्धि गर्न सांस्कृतिक आदानप्रदान शक्तिशाली माध्यम भएकाले साझा सांस्कृतिक सम्पदा तथा सदियौंदेखिका परम्पराले पारस्पारिक समझदारी कायम गर्न बलियो आधार प्रदान गरेको छ।’

नेपाल र चीनबीचको दीर्घकालीन सामाजिक–आर्थिक सम्बन्ध साझा विकासको दृष्टिमा अनुपम नमुना भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले दिगो विकास र समावेशी समृद्धिको लक्ष्य प्राप्तिमा आपसी प्रयास आवश्यक रहेकामा जोड दिनुभयो।

चीनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) अवधारणा दक्षिण एसियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधनका रूपमा उभिएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बीआरआईले जोड दिएको बताउनुभयो ।

दक्षिण एसियाली क्षेत्रमा नयाँ सम्भावना खोल्ने, व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने विषयलाई बीआरआईले परिकल्पना गरेको छ, नेपालजस्ता राष्ट्रका लागि यी पहलले आर्थिक रूपान्तरण गर्न सहज हुने उहाँले बताउनुभयो।

नेपाल–चीन सम्बन्ध सदियौँ पुरानो तथा पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्ध कूटनीतिक र आर्थिक क्षेत्रमा मात्र नभई सांस्कृतिक र शैक्षिक क्षेत्रमा पनि प्रगाढ हुँदै गएकामा खुसी व्यक्त गर्नुभयो।

नेपालका लागि चिनियाँ दूतावासका वाणिज्य दूत सी युले नेपाल र चीनबीचको सम्बन्ध मित्रता, आपसी विश्वास र रणनीतिक साझेदारीमा आधारित रहेको बताउनुभयो।

दुई देशले विकास र समृद्धितर्फ उन्मुख दिगो मित्रताको रणनीतिक साझेदारी स्थापना गरेको उल्लेख गर्दै उहाँले चीन–नेपाल मित्रताले नयाँ अध्यायको ढोका खोलेको बताउनुभयो।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरलाई पर्यटकीय नगरी बनाउन गुरुयोजना निर्माणको तयारी गरिएको जानकारी दिँदै मध्यपुरमा चिनियाँ पर्यटकलाई स्वागत गर्न आफूहरू आतुर रहेको बताउनुभयो।

कार्यक्रम आयोजक संस्थाको तर्फबाट सिल्क रोड युथ फोरमका महासचिव यांग तोंग फिंगले चीनको सिल्क रोड युथ फोरम अन्तर्राष्ट्रिय युवा आदानप्रदान मञ्च भएको जानकारी दिँदै फोरमले विभिन्न देशका युवाहरूबीच एकता, मित्रता र प्रगतिको उद्देश्यलाई आत्मसात् गर्ने बताउनुभयो।

उहाँले बेल्ट एन्ड रोडमा जोडिएका मुलुक र क्षेत्रका युवाहरूबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन योगदान फोरमले योगदान पुर्‍याउने उल्लेख गर्नुभयो। सिल्क रोड युथ फोरमले वार्षिकरूपमा भेला, बैठक, विषयगत फोरम, गोलमेच संवाद इत्यादि आयोजना गर्दै आएको छ।

उहाँले थप्नुभयो– ‘यो विभिन्न देशका सरकारी निकायहरू, व्यापारिक समुदायहरू र सम्बन्धित देशहरूमा विज्ञहरूबीच संवाद र सञ्चारका लागि उच्चस्तरको मञ्च बनेको छ।’

कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका प्रवक्ता मात्रिका पौड्याल, चीन विज्ञ दिलीप आचार्य, अनिका रेविका राजभण्डारी र रौनभसिंह खत्रीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

त्यसै गरी सिचुवान संग्रहालयकी प्रमुख हौ श्रीसिन, भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका सहप्राध्यापक छेतेन नाम्गेल र भुटानी कलाकारले सिल्क रोडसँग आबद्ध मुलुकहरूको साझा हितको बारेमा प्रस्तुति दिनुभएको थियो।