विमानस्थलमा प्रहरीको उद्दण्डता

कुट्नेमाथि कारबाही गरौं भन्दा उल्टै सहसचिवमाथि हातपात



काठमाडौं ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रहरीबाट अध्यागमन अधिकृत निर्घात कुटिएको घटनामा दोषीमाथि कारबाही गरौं भन्दा अध्यागमन कार्यालयकै प्रमुख सहसचिव गोगनबहादुर हमालमाथिसमेत उल्टै हातपात भएपछि घटना गम्भीर बनेको छ।

शुरूमा अधिकृत कुट्न पुगेको प्रहरी समूहले त्यसलगत्तै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग उठाएका सहसचिव हमालमाथि अध्यागमनकै सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेवतीरमण पोखरेल र प्रहरी निरीक्षक मधुसुदन विककै अगाडि असई सञ्जय तामाङलगायतका प्रहरी जवानले लाताले हानेर दुव्र्यवहार गरेका थिए।

शुरूमा दुवै पक्षको हठले घटना घटे पनि त्यसपछि सीसीटिभी फुटेज हेर्ने समयमा अध्यागमन कार्यालयका प्रमुख सहसचिवसहितका कर्मचारी फेरि प्रहरीबाटै कुटिनुले प्रहरीको उद्दण्डता पुष्टि गरेको अध्यागमन कार्यालयका कर्मचारीहरूले बताएका छन्।

यस घटनामा मुख्य सचिव डा. वैकुण्ठ अर्यालसमेत प्रहरीको गतिविधिप्रति रुष्ट रहेको बताइएको छ । घटनामा कर्मचारी कुटिएपछि यस सम्बन्धमा अर्यालले आइतबार प्रधानमन्त्रीसँग गम्भीर रूपमा कुराकानी गर्ने बताउनुभएको छ।

उहाँले भन्नुभयो– ‘प्रहरीबाट सहसचिव तथा अधिकृत कुटिनु लज्जाको विषय हो, यस सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गरी निष्कर्ष निकाल्छौं।’

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले पनि कर्मचारी र प्रहरीको विवादमा पहिलो घटनामा अधिकृत कुटिएको तर त्यसपछिको दोस्रो घटनामा सहसचिव हमालमाथिको दुव्र्यवहारको घटना गम्भीर र आपराधिक प्रकृतिको भएको बताउनुभयो।

‘पहिलो घटनाको वास्तविकता के रहेछ भनेर सीसीटिभी फुटेज हेर्न पुगेका प्रमुख अध्यागमन अधिकृतमाथि प्रहरीकै उच्च पदस्थको अघि फेरि हातपात हुनु गम्भीर खालको आपराधिक घटना हो, यो हाम्रा लागि सह्य छैन’ –विभागका महानिर्देशक तामाङले नेपाल समाचारपत्रसँग भन्नुभयो।

यस घटनाको छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाए पनि सत्यतथ्य प्रमाणको अभावमा समितिले निष्पक्ष रूपमा छानबिन गर्न कठिन हुने देखिएको छ।

अध्यागमन विभागका महानिर्देशक तामाङले घटनाका बारेमा माथिल्लो तहसम्ममा नै गम्भीर रूपमा कुरा उठाइएको बताउनुभयो। उहाँले छानबिन समिति गठन भइसकेको अवस्थामा प्रहरीले एकतर्फी रूपमा सीसीटिभी फुटेज सार्वजनिक गरी बदमासी गरेको बताउनुभयो।

‘छानबिन समिति गठन भएर छानबिन नथाल्दै एकतर्फी रूपमा सीसीटिभी फुटेज सार्वजनिक गरिएको छ, त्यसरी फुटेज सार्वजनिक गर्नेमाथि पनि छानबिन गरी कारबाही हुनुपर्छ भन्ने हाम्रो माग छ’ –महानिर्देशक तामाङले भन्नुभयो।

घटनामा अध्यागमन अधिकृत छायालाल मोक्तान प्रहरीको कुटपिटबाट घाइते हुनुभएको छ। उहाँ बिहीबार आफ्नो प्रस्थान कक्षतर्फ जाँदै गर्दा चेकजाँच गर्ने स्थानमा खटिएका प्रहरी जवान रविरञ्जन गुप्ताले अश्लील शब्दहरू प्रयोग गरेको र पछि असई सञ्जय तामाङलगायतको ४–५ जना प्रहरीको टोलीले अध्यागमन अधिकृतमाथि कुटपिट गरेको थियो।

यद्यपि, प्रहरीले भने चेकजाँचका क्रममा अध्यागमन अधिकृतले दादागिरी देखाएकाले घटना घटेको दाबी गरेको छ। सीसीटिभी फुटेज हेर्दा शुरूमा अध्यागमन अधिकृतले चेकजाँच नगर्न केही हठ गरेको देखिन्छ।

त्यही विषयमा प्रहरीले उद्दण्डता देखाउँदै एकैपटक आक्रमणमा उत्रेको र अधिकृतले पनि लात्ताले हान्दै प्रतिरोध गरेपछि प्रहरीहरू झनै उत्तेजित भएर कुटपिटमा उत्रेका थिए।

सो घटनापश्चात् तत्काल अध्यागमन कार्यालयका प्रमुख सहसचिव हमाल घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउन सीसीटिभी कक्षमा पुग्नुभएको थियो। हमालले सीसीटिभी हेरेपछि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग गर्दा उल्टै त्यहाँ रहेका प्रहरी नायव उपरीक्षक तथा प्रहरी निरीक्षककै अगाडि हमालमाथिसमेत हातपात भएको थियो।

सीसीटिभी हेर्न अध्यागमन प्रमुख हमाल आफ्ना उपसचिव, केही अधिकृत र यसअघि कुटिएका मोक्तानसहित सीसीटिभी फुटेजको कक्षमा पुग्नुभएको थियो।

सोही क्रममा छलफल हुँदा फेरि प्रहरीका असई सञ्जय तामाङलगायतका जवानहरू मुक्तानमाथि जाइलागेका थिए।

कोठामा चारैतिर घेरेर मोक्तानलाई पुनः कुट्न थालेपछि अध्यागमन प्रमुख हमालले छुटाउन खोज्दा उहाँमाथि केही प्रहरीले पछाडिबाट लात्तो प्रहार गरेका थिए। त्यसपछि हमालले त्यसको जानकारी तत्काल गृह मन्त्रालयमा गराउनुभएको थियो।

हमालले घटनाको जानकारी गराएलगत्तै गृह मन्त्रालयले सहसचिव स्थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। प्रहरीले कर्मचारीलाई दोष पार्ने गरी सीसीटिभी इडिटिङ गरेर सार्वजनिक गरेको बताइएको छ ।

कारबाही नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी

सत्तारूढ कांग्रेस, माओवादी तथा प्रमुख प्रतिपक्षी एमाले निकट विभिन्न कर्मचारी ट्रेड युनियनहरूले अध्यागमन कार्यालयका प्रमुख सहसचिवलगायत अधिकृतमाथि कुटपिट गर्ने प्रहरीमाथि कारबाही नगरिए त्यसविरुद्ध देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्।

ती तीन संगठनले छुटाछुटै प्रेस विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्न प्रहरीलाई कडा कारबाहीको माग गरेका हुन् । कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनकबहादुर रावलद्वारा जारी विज्ञप्तिमा विगत केही समयदेखि प्रहरीबाट निजामती कर्मचारीमाथि हातपात गर्ने, असान्दर्भिक विषयमा समेत धरपकड गर्ने, मुद्दा लगाउने जस्ता अनावश्यक हस्तक्षेप कार्य भएकोमा त्यस्ता कार्यको घोर भत्र्सना गरिएको छ।

साथै विज्ञप्तिमा यस्ता घटनाका दोषी माथि तत्काल कारबाही नगरे त्यसको सशक्त प्रतिरोधमा उत्रने र देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत युनियनले दिएको छ।

यसै गरी एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका महासचिव जीवन काफ्लेले पनि विज्ञप्ति जारी गर्दै अध्यागमन प्रमुख र अधिकृतमाथि भएको प्रहरी आक्रमणको निन्दा गर्नुभएको छ।

विज्ञप्तिमा सो घटनामा संलग्न व्यक्तिलाई तुरुन्त कारबाही नभएमा कार्यालयको सेवा बन्द गर्नेलगायत आवश्यक आन्दोलनका कार्यक्रम घोषणा गर्न संगठन बाध्य हुने बताइएको छ।

यसै गरी माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव डिलाराम खनालले विज्ञप्ति जारी गर्दै पनि सो घटनाका दोषीमाथि कारबाही गर्न तथा अध्यागमनमा देखिएका समस्या समाधान गर्न सुधारका कार्यक्रम ल्याउन माग गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्