सत्तामा सामन्त, कागतमा लोकतन्त्र !



काठमाडौं ।

सत्तासीनहरूका दुर्व्यवहार विरुद्ध आन्दोलनमा उत्रेका जनताका बोली व्यवहारलाई लिएर हिजोआज हाम्रा मिडियाहरूमा चित्त दुखाउँदै अनुहार बिगार्दै प्रधानमन्त्रीले जनतालाई प्रश्न गरेको देखिन्छ, ‘के यही हो लोकतन्त्र ? यस्तै हुन्छ लोकतन्त्र ?’ आदि इत्यादि।

मलाई लाग्छ ती प्रधानमन्त्रीले देश र जनताप्रति आफूले गरेका यावत् विश्वासघातका फाइलहरू साक्षी राखेर ऐनाअगाडि उभिँदै आपैंmसँग यी प्रश्नहरू राख्दा कसोहोला ? विगतका आफ्नै वाचा बन्धनका ऐनाअगाडि आफैं उभिएर आत्मसमीक्षा गर्दा कसो होला ? आफ्नो शासनसत्ताप्रति भक्तिभावनाका उपदेश त राणाहरू पनि दिन्थे।

राणाहरू पनि आफ्नो शासनलाई कुशासन भन्थेनन्। जनतामा लेकतन्त्र भएन भन्ने गुनासो गर्न जानेका यत्तिका चलाख प्रधानमन्त्रीले आफ्नो इतिहास र वर्तमानबाट केलाएर सही उत्तर दिन नसकिने प्रश्न त छैन । हचुवा पारामा यसरी अरूलाई सरसफाइको उपदेश दिन टक्रिँदा प्रथमतः आपूmले पनि राम्ररी नुहाएको हुनुपर्छ नि हैन र ?

आफैं सामन्तमार्गी छ, आफ्नै व्यवहार किन्चित लोकतान्त्रिक छैन भने यस्तो आलोच्य स्थितिमा आफू फोहरमा डुबेर अरूलाई सरसफाइ र स्वच्छताको उपदेश दिनु निम्नस्तरको हास्यअभिनय मात्र हुन सक्छ। प्रधानमन्त्रीको पदका लागि सुहाउँदो अभिव्यक्ति हुन सक्दैन । हामी जनतालाई यस्तै लाग्छ।

यिनै र यस्तै कारण हुन्, जसले गर्दा हिजो आज नेपाली जनता यी सत्तासीनहरूलाई टिभीका पर्दामा पनि देख्न सुन्न मन पराउँदैनन्। आस्था विश्वास सवै गायब छन्। मन अड्याउने उजिन्डै बाँकी छैन।

अनि सत्तासीन कसैलाई किन हेर्ने ? किन सुन्ने ? केही दिनअघि यी सत्तासीनहरूले आफू आफूः बसेर ताली बजाएर आफ्नो मर्यादा क्रम बनाएर किताबमा छापे पनि। खै जनताका मानसपटलमा यिनीहरूको मर्यादा स्थापित हुनै सकेको छैन किन ? यति पनि सोच्न नसकेको अवस्थामा उपदेश दिन अघिसर्नुको कुनै तुक हुन्छ र ? उपदेश सुन्न पनि पहिले त उपदेशकप्रति भरोसा हुनुपर्छ ।

अब एकछिन चर्चित यसै मर्यादा क्रमका विषयमा चर्चा गरौँ । सामान्यनीतिमा एउटा श्लोक यस्तो पनि छ —
‘परै : प्रोक्ताः गुणा यस्य निर्गुणोपि गुणी भवेत् ।
इन्द्रो पि लघुतां याति स्वयम् प्रख्यापितै र्गुणै :

अर्थात् ‘अरूले गुण गान गर्दा प्रशंसा गर्दा गुणहीन मान्छे पनि गुणवान् मानिन सक्छ। आफैंले आफ्नो प्रशंसा र गुणगान गर्‍यो भने इन्द्रकै व्यक्तित्व पनि हल्का बन्छ। स्तरहीन बन्छ।’

सन्दर्भ बोकेर अव एकछिन गाउँतिर जाउँ। कुरा गाउँमै बढी हुन्छ। अन्न पनि गाउँमै उब्जन्छन्। झारपात पनि गाउँकै भीर पखेरामा बढी उम्रन्छन्। फैलिन्छन्। शहर बजारमा उम्रने, झाङ्गिने त कङ्क्रीटकै जङ्गल मात्र हो। जहाँ बाह्रै काल समवेदना र सहृदयताको खडेरी फल्छ।

यसपाला म एक आफन्तको गाउँ गएको थिएँ। गाउँ राजधानीबाट केही घण्टामै पुगिन सकिने सामान्य दूरीमा थियो। नेपालका आजका अन्य विभिन्न गाउँमा जस्तै त्यहाँ पनि थुम्कामा उभिएर हेर्दा गनिनसक्नुका घरहरू थिए।

रैथाने छानाहरूको लोप नै त्यहाँको एउटा प्रगति थियो। यो शायद ०७२ को कृपा कटाक्ष्यको प्रतिफल होला। गाउँमा अर्को अझ उल्लेखनीय प्रगति चाहिँ युवाविहीनता नै थियो। घरहरूसम्म पुगेर हेर्दा त्यहाँ पनि भेटिने बुढाबुढीहरू र ढोकाका ताल्चाहरू थिए । बाँझो पाखा पखेरा र त्यहाँ पर्यटन गर्न पुगेका बाँदरहरू नै थिए।

म जुन होमस्टेमा थिएँ त्यो घर त्यस भेगका हुनेखाने साहु नेताजीकै थियो । राजधानीबाट त्यता पुगेका हरेक ठुलाबढा नेता उपनेता समय मिलाएर त्यस घरमा छिरेकै हुन्थे। दश दिनको बसाइमा मैले त्यहाँ दशै जना माननीय भेटेँ। म त त्यहाँको नौलो अनुहार।

माननीयजस्ता विशेष शिष्ट महिला पुरुषले शिष्टाचारकै लागि पनि म फलानो त भन्नै पर्‍यो। परिचय दिने क्रममा सबैजसोले बोलेको शब्दावली एउटै थियो, म माननीय फलानो ! कुनै एकले पनि आफ्नो नाम अगाडि माननीय विशेषण जोड्न भुलेनन् । यिनीहरू देश बिर्सन्छन्।

आफूलाई मत दिएर पठाउने जनता बिर्सन्छन् । आफ्ना पदीय मर्यादा र दायित्व बिर्सन्छन्। आफ्नो नामअगाडि माननीय विशेषण राख्न बिर्संदैनन् । कति प्यारो यो विशेषण ! अझ नामै लोप भएर यो विशेषण चाहिँ स्थायी बनिरहेहुन्थ्यो जस्तो लाग्ने! मलाई अचम्म लाग्यो।

पछि थाहा पाएँ धेरैजसो गाउँले वरिष्ठ नागरिकहरूलाई अचम्म नै लागेको रहेछ यसमा । एक जना वरिष्ठले त मसँग मुखै फोरेर टिप्पणी गर्नुभयो, ‘यी सबै पदलोलुप निर्लज्ज निशाचरहरू हुन्। अशिष्ट धोक्राहरू हुन्। नेपाली परम्परामा आफ्नो नामका अगाडि आफैंले सम्मानजनक विशेषण राख्नु अशिष्टता मानिन्छ। कसैले आफूलाई म श्री फलानो, म श्रीमान् फलानो भन्दैन ।

अर्को कुरा जो मान्छे आफ्ना देशमारा र जनतामारा कामले गर्दा समाजमा मुख देखाउन लायक छैन त्यसले आफ्ना नामका अगाडि माननीय सम्माननीय पद्वी भिराउन आफैंले कानुनको निर्माण गर्छ, गराउँछ । यो नाकै थुन्नुपर्ने खालको घीनलाग्दो ताउरमाउर हैन र ? मैले गाउँमा रहँदा धेरै बुढा पाका नागरिकका धारणा के पाएँ भने आजका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीगण र सांसदहरू सम्माननीय माननीय भनिन लायक कुनै पनि छैनन् ।

देश र जनतालाई सम्मान दिन नसक्ने पदलोलुप, धनलोलुप भ्रष्टहरू कसरी सम्माननीय ? कसरी माननीय ? सम्माननीय हुन त साजमा सम्मान लायक काम गर्नुपर्‍यो नि ! खै त्यस्तो काम ? मुलुक र जनताको चीरहरण गर्न एम.सी.सी. पारित गर्ने, नागरिकता विधेयक पारित गर्ने यी अराष्ट्रिय मानुषमूर्तिहरू कसरी सम्माननीय ? कसरी माननीय ?

गाउँमा सबैका कुरा सुनेपछि म बसेकै घरका वरिष्ठ नागरिकले पनि भन्नुभयो, ‘हेर्नुस् विधिवत् राष्ट्रिय जनमत लिने हो भने आजका यी बिचौलियाहरूले आफूआफैं निर्णय गरेर भिरेका यी माननीय सम्माननीय पदहरू सबै खारेजीमा पर्छन् । यस पदका आजका धारयिताहरू सबै आफैं मपाइँ बनेर जथाभावी आलङ्कारिक पद धारण गर्नुजस्तो गम्भीर अपराध गरेबापत गम्भीर कोटिकै सजायका भागी बन्छन् । यिनीहरू लामो कारावासमा पनि पर्न सक्छन् । पर्नुपर्ने हो ।

९० कटेका ती वरिष्ठ नागरिकले भन्नुभयो, यो त सबै किसिमका सामन्तवादको पराकाष्ठा हो । यसै तहमा त जहानियाँ शासक भनिने राणाहरू पनि थिएनन् । राणाहरू जनतालाई विभिन्न प्रलोभन दिएर निर्वाचनको नाटकमा जितिआएका बिचौलियाहरू थिएनन्।

निर्वाचन नामक नाटकबाट पद हत्याएर बनेका स्वघोषित माननीय, सम्माननीयहरू हुन् यी ग्रहणीय बिचौलियाहरू। राणाहरू सैन्यशक्तिका आडमा स्वघोषित थिए र पनि यतिसम्म गतिछाडा थिएनन् ।

हो, विभिन्न इतिहासकारहरूले नेपालमा राणाशासन काललाई सामन्तकाल पनि भनेका छन्। त्यो सामन्त काल थियो पनि। त्यसताका राणाहरू राजा थिए भने जनतालाई प्रजा भनिन्थ्यो । दुनियाँ भनिन्थ्यो । दुनियाँको कुनै हैसियत थिएन। ज्यूधन सरकारको भनिन्थ्यो।

राणाहरूका लागि प्रयोग हुने शब्दकोश नै बेग्लै थियो। मौसुफ, सरकार, महाराज, गरिप्रवर राणाहरूका लागि सम्बोधनमा प्रयोग गरिने शब्दहरू थिए। दुनियाँदार हिँड्थे। महाराजहरूको सवारी हुन्थ्यो । दुनियाँदार फर्कन्थे।

महाराजहरूको फिर्ती सवारी हुन्थ्यो । दुनियाँदार बोल्थे । महाराजहरूबाट हुकुम हुन्थ्यो । मर्जी हुन्थ्यो। प्रवाङ्गी हुन्थ्यो। दुनियाँदार खान्थे। महाराजहरू ज्यूनार गर्थे।

दुनियाँदारहरू दिन्थे । महाराजहरूबाट बक्स हुन्थ्यो। हुकुम पनि बक्स हुन्थ्यो। दुनियाँदारहरू सुत्थे। महाराजहरूको सुकला हुन्थ्यो। महाराजहरूका हरेक बोली व्यवहारलाई व्यक्त गर्न राजसी शब्दहरू चाहिन्थे। सामान्य शब्दहरूको हैसियतले पुग्थेन। ती शब्द नेपालका रैथानेले नपुगे फारसी अङ्ग्रेजीजस्ता विदेशी भाषाहरूबाट पनि शब्दहरू सापट लिइन्थे।

पदवी र नामका अगाडि एउटा श्री लगाउन पनि दुनियाँदारलाई अनुमति थिएन। महाराजहरूका पदवी वा नामका अगाडि एउटा श्रीले पुग्थेन।

श्री ३ , श्री ४ , श्री ५ भन्नु लेख्नु चाहिन्थ्यो । गज्जब थियो सामन्तहरूको ठान, मान र शान । गणतन्त्रका शीर्ष, प्रतिशीर्ष, उपशीर्ष, शीर्षहीन सबै नेता उपनेताहरूले राणाकालीन सामन्तहरूका ठान मान र शानको त दोब्बर तेब्बर गुणा नक्कल गरे। ती सामन्तहरूमा भएका राष्ट्रिय परम्परा र संस्कृतिगत मूल्य मान्यताको सम्मान गर्ने प्रयत्नको भने कत्ति पनि अनुसरण गरेनन् ।

जस्तै, दृष्टान्तका लागि एक दुई बुँदा पेस गरेर हेरौँ । त्यस्तो सामन्ती कालखण्डमा त्यस्ता टुप्पिएका शासक सामन्त महाराजहरू पनि गुरु भनेपछि हच्कन्थे। मर्यादाक्रममा गुरुहरूलाई आफूभन्दा तल राख्ने निर्लज्जता राणा महाराजहरूमा थिएन । गुरुका नामका अगाडि श्री ६ भन्ने लेख्ने चलन चलाएका थिए।

राणा महाराजहरूमा ज्ञान गुणका अगाडि निहुरिनेसम्मको मानवीयता थियो । मुलुकको सार्वभौमिकताको अपमान गर्न हुँदैन, गर्न दिनुहुँदैन भन्नेसम्मको राजनीतिक चेतना थियो। देशभक्तिको भाव थियो। राणाहरूले नेपालको नक्साकै आकार प्रकारको केक बनाएर काट्ने खाने किसिमका घातक मनसायका बर्थडेहरू कहिल्यै मनाएनन् । देश बेच्ने योजना कहिल्यै बनाएनन्।

एमसीसीजस्तो देश र जनताको भाग्य भविष्यसँग खेलबाढ गर्ने सन्धि सम्झौता कहिल्यै गरेनन् । मुलुकको जल जङ्गल जमिनलाई विदेशीको खटनमा कहिल्यै सुम्पेनन्।

श्री ३ जङ्ग बहादुरले ब्रिटिस शासकहरूबाट मागेको पाउने अवस्थामा युद्धमा गुमेका नेपालका भूक्षेत्रहरू मागे, व्यक्तिगत फाइदा मागेनन्। जङ्गबहादुरले नै हो आफू पदमा रहँदा ब्रिटिस शासकसँग नडराई नेपाल इन्डियाको सीमा क्षेत्रमा पिलरहरू ठड्याए।

अहिलेका सत्तासीनहरूले ती पिलरहरू जोगाउनसम्म पनि सकेनन्। बरू महाकालीपारिको नेपाली भूक्षेत्र परिबन्द मिलाएर इन्डियालाई सुम्पे। यो अत्यन्त लज्जाजनक घटना हो।

हाम्रा पुर्खाहरू भन्थे शत्रोरपि गुणा वाच्या दोषा वाच्या गुरोरपि अर्थात् शत्रुका पनि राम्रा गुणहरू छन् भने त्यसको बखान गर्नू बाउ अथवा गुरुका पनि दुर्गुणहरू छन् भने त्यसको पनि बखान गर्न नछोड्नू ।

अन्तमा हामी सबैलाई मननीय एउटा प्रश्न —‘सम्माननीय एम.सी.सी. ! सम्माननीय राष्ट्रघाती नागरिकता विधेयक !’ ‘माननीय एम.स.सी. !, माननीय राष्ट्रघाती नागरिकता विधेयकवाला विधायक !’ यी पदावलीहरू हाम्रा नेपाली कानहरूमा कस्तो स्वादको सुनिएला ? मीठो ? दुःखद् ? अथवा हास्यास्पद ? मर्यादा सम्मान हो । जनताले दिने सम्मान हो । सम्मान राम्रो व्यवहारले आर्जन गर्न सकिन्छ । त्यागी र सहयोगी चरित्रमा लटरम्मै फल्छ सम्मान ।

त्यो छैन भने जति गुनासो गर, फल्ने अपमानै हो । यथार्थमा हेर्नुस् न। आज कागतमा मर्यादा क्रम जति बढाए पनि राष्ट्रपति आदि इत्यादिहरूप्रति जनमनमा थोपो सम्मान बढेको छैन, कागतमा मर्यादाक्रम जति घटाए पनि मेयर बालेनहरूप्रति किन्चित् पनि सम्मान घटेको छैन।

यथार्थमा आज पनि लोकतन्त्र कागतमा छ, सत्तामा त सामन्त साहुहरू नै विराजमान होइसिन्छ। यसै भएर धरातलमा उत्रनुहोस्। बोलीले होइन, सक्नुहुन्छ भने व्यवहारले उपदेश दिनुस् सम्माननीय सत्ताधुरीणजी, सक्नुहुन्छ ?

प्रतिक्रिया दिनुहोस्