पूर्वराजालाई माहुरीको संगत गर्न दुर्गा प्रसाईंको सुझाव, राजतन्त्र र हिन्दु राष्ट्रको नारा लगाउनेसँग सजग रहन आग्रह  

0
Shares

बुटवल। 

राष्ट्र, राष्ट्रियता,धर्म  संस्कृति र नागरिक बचाउ महाअभियानले मंगलबार बुटवलमा आमसभा गरेको छ । अभियानका संयोजक दुर्गा प्रसाईंले सभालाई सम्बोधन गर्दै सोझा साझा नागरिकलाई विभिन्न तरिकाले ठग्ने, लुट्ने जस्ता कार्यहरू गर्ने जनता विरोधी तत्त्वहरू समाप्त भएर जाने विश्वास व्यक्त गरे। उनले  विगत लामो समयदेखि शोषित पीडित जनताको पक्षमा आफूले आवाज उठाउँदै आएको बताए ।

 विभिन्न बहानामा देश र जनतालाई लुट्ने, ठग्ने, चोर्ने तत्वहरुले निमुखा जनतालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा शोषण दमन गरेर शासन गर्ने समय समाप्त भएको उल्लेख गर्दै संयोजक प्रसाईँले राष्ट्र र राष्ट्रियता बचाउन जनता जाग्नु पर्ने बेला आएको बताए ।

विगत केही समयदेखि हाम्रो धर्ममाथि प्रहार भएका कारण आम नेपाली जनताले दुःख पाएको तर्क गर्दै  संयोजक प्रसाईँले राष्ट्र, राष्ट्रियता, धमर्, संस्कृति र नागरिक बचाउ महाअभियानलाई साथ नदिनेहरु भविष्यमा पछुताउनु पर्ने बताए ।

संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको नारा लगाउँदै आफ्नो राजनैतिक स्वार्थ पूरा गर्ने तत्वहरुसँग सजग रहन आग्रह गर्दै संयोजक प्रसाईँले सच्चा राष्ट्रवादी समूहको पहिचान गरी आफ्नो महाअभियानलाई साथ दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत सुझाएका छन् ।

संवैधानिक राजतन्त्र, सनातन हिन्दु राष्ट्र र सङ्घीयताको खारेजीको अभियान लिएर देशव्यापी रुपमा सभा गर्दै हिँडेका दुर्गा प्रसाईँले बुटवलको सभामा बजार क्षेत्रका उद्योगी ब्यबसायीहरु उपस्थित नभएकोमा गुनासो गर्दै उनीहरुलाई भविष्यमा पश्चात्ताप हुने धारणा व्यक्त गरे ।

सभामा दिनेश ढकाल ईशा खड्का दीपेन्द्र कँडेल, शिव सेना नेपालका केन्द्रीय सदस्य शिशिर विक्रम शाह, राप्रपा जिल्ला सदस्य माधव रिमाल लगायतले बोलेका थिए।