महानगरले पार्किङ निषेध गरेपछि न्युरोडका व्यवसायी सटर बन्द गरेर सडकमा

0
Shares

काठमाडौं ।

न्युरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले आजदेखि पार्किङ निषेध गरेपछि व्यवसायीले विरोध जनाएका छन्।

न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएपछि सटर बन्द गरेर व्यवसायी सडकमा विरोध प्रदर्शनमा उत्रिएका हुन्। पार्किङ गर्न नपाएपछि ग्राहक नआउने उनीहरुको भनाइ छ।

सवारी आवागमनलाई सहज बनाउन महानगरले आजदेखि सडकमा पार्किङ गर्ने रोक लगाएको हो। पार्किङ निषेध गरिएका स्थानहरूमा ‘नो पार्किङ’ का सङ्केत चिन्ह राखिएका छन्।

यसैगरी नगर प्रहरी खटाएर पार्किङ गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी गराइँदै छ। यस क्रममा आज बिहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकलहरू नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको छ।

नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौं टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।

यसअघि धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ हुने गरेको थियो।

सडकमा पार्किङ गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ निषेध गरिसकिएको छ।