अखिल क्रान्तिकारी अध्यक्ष सिंहलाई पक्राउ गर्न आदेश



सुर्खेत ।

अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहलाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले आदेश दिएको छ।

१५ वर्षअघि कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोप लागेका अध्यक्ष सिंहसहित छ जनालाई पक्राउ गर्न जिल्ला अदालतबाट सुर्खेत प्रहरीले अनुमति पाएको छ। प्रहरीले शुक्रबार पक्राउ गर्न अदालतले अनुमति दिएको जानकारी दिएको छ।

प्रहरीका अनुसार किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाँडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरीले यसअघि जिल्ला अदालतबाट २०७९ साउन १३ गते पक्राउ पुर्जी लिएको थियो।

‘किटानी जाहेरीमा नाम उल्लेख भएको छ जनाविरुद्ध पक्राउ पुर्जी माग गरेका थियौं, अदालतले अनुमति दिएको छ’, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले भन्नुभयो– ‘उनीहरूको घर–ठेगानामा खोजतलासका लागि पत्राचार गरिसकेका छौं।’

सुर्खेतमा जन माविमा पढ्दै गरेका राजबहादुरको २०६५ फागुन २६ गते बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गरेको बेला खुकुरी प्रहार गरेर हत्या गरिएको थियो।

हत्यालगत्तै मृतक राजबहादुरका काका नवराज मल्लले शुरूमा जाहेरी दिनुभएको थियो। जाहेरीमा ‘टाइगर’ भनिने पदमबहादुर रावतले राजबहादुरमाथि खुकुरी प्रहार गरेको उल्लेख छ।

तर, मृतकका बुबा नन्दबहादुरले छोराको हत्यामा उल्लेखित छ जनासहित नाम, ठेगाना नखुलेका दैलेखका दुई संलग्न रहेको भन्दै २०७९ साउन १३ गते पूरक जाहेरी दिनुभएको थियो।

हत्या घटनापछि प्रहरीले ३१ जनालाई अनुसन्धान अधिकृत तोके पनि अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन। मृतकका बुबा नन्दबहादुरले १५ वर्षदेखि अदालत र प्रहरी कार्यालय धाउँदा पनि न्याय पाउन नसकेको बताउनुभयो।

‘छोराको हत्या गरेर तत्कालीन माओवादीको छैटौं डिभिजनभित्र लुकेका माओवादीका कार्यकर्ताहरू अझै पक्राउ नपर्नु उनीहरूलाई राजनीतिक संरक्षण छ भन्ने बुझिन्छ,’ नन्दबहादुरले भन्नुभयो– ‘छोरा मार्नेहरू पक्राउ परिदिए उसको आत्माले पनि शान्ति पाउँथ्यो होला।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक कृष्ण खड्कालाई घटनाको अनुसन्धान गर्ने अधिकारी तोकेको छ। एसपी थापाले १५ वर्षअघि भएको घटना ढिलो जानकारीमा आएपछि अब त्यसलाई टुंगोमा पुर्‍याउने बताउनुभयो।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले १५ वर्षअघिको हत्या घटनाका बारेमा के भएको हो त्यसको जानकारी दिन जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई निर्देशन दिइएको बताउनुभयो।

‘समाचार आइसकेपछि प्रहरी प्रमुखज्यूबाट मौखिक रूपमा के भएको हो विस्तृत विवरण बुझेर जानकारी दिन आदेश भएको छ’, उहाँले भन्नुभयो– ‘जिल्लाबाट त्यसको जवाफ दिएपछि थप विवरण भन्न मिल्ला।’

प्रतिक्रिया दिनुहोस्