दशगजाको १७ किमी क्षेत्र खाली गरिएको छ : सशस्त्र प्रहरी



काठमाडौं ।

नेपाल र भारतीय सुरक्षा सङ्गठनको समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढिरहेको छ।

सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलको समन्वयमा हालसम्म ३८ स्थानमा पाँच सय ५६ घरटहरा हटाई करिब १७ किमी दशगजा खाली गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपालद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सोही क्रममा दशगजा क्षेत्रमा १८ वटा भौतिक संरचना निर्माणमा तथा २६ स्थानको करिब १३.३२ बिघा क्षेत्रमा खेतीपाती गर्न रोक लगाइएको बताए।

त्यस क्रममा एक सय ६१ स्थानमा करिब एक सय ७३ किमी दशगजा क्षेत्र सरसफाइ गरिएको जानकारी दिइयो। दुवै देशको सीमालाई व्यवस्थित गर्न सीमा स्तम्भ निर्माण, मर्मतसम्भार र पुनःस्थापनासम्बन्धी मापदण्ड बनाएर हालसम्म एक हजार आठ सयभन्दा बिजोर सीमा स्तम्भको मर्मत गरिएको पनि बलले जनाएको छ।

जोडअङ्कको सीमा स्तम्भ निर्माण कार्य भने भारतीय पक्षबाट हुँदै आएको छ । हाल सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालका दुई सय ५३ पोष्ट खडा गरिएको छ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार नेपाल र भारतबीच एक हजार आठ सय ८० किमी लामो सीमा छ । दुवै देशको सीमा क्षेत्रमा ठूला, मध्यस्त र साना गरी आठ हजार पाँच सय ५३ वटा सीमा खम्बा रहने गरी नक्साङ्कन भए पनि हाल ५३ प्रतिशतमात्र गाडिएको छ।

भारतमा अङ्ग्रेजका समयमा नेपाल र भारतका बीचमा ठूलो प्रकृतिका नौ सय १६ वटा जङ्गे पिलर गाडिएको थियो। त्यो सीमा स्तम्भ सात फिट अग्लो र साढे सात फिट गोलो आकारको छ। ठूला सीमा स्तम्भ तीनदेखि पाँच माइलको दूरीमा गाडिएको थियो भने पछि खम्बाका बीचमा एकदेखि तीनवटासम्म मध्यस्त खम्बा छ।

मध्यस्त खम्बाका बीचमा दुईदेखि तीनवटासम्म साना पिलर रहने व्यवस्था गरिएको छ। बलले सीमा क्षेत्रका जनतामा सुरक्षा र विश्वासको वातावरण कायम गर्न त्यस भेगका वडाध्यक्षसँग जनचेतनामूलक अन्तरक्रिया गरिरहेको छ।

सीमा प्रवेश क्षेत्रमा सौन्दर्यीकरणका लागि बलको अगुवाइमा विभिन्न कार्यक्रम अघि बढिरहेको छ। त्यस क्रममा सीमा नाकामा बलको पहलमा खानेपानी व्यवस्थापन, शीतलताका लागि वृक्षरोपण र राष्ट्रको शान झन्डा फहराउने कार्य भएका छन्।

अर्ध सैनिक बलकारुपमा रहेको सशस्त्र प्रहरीले सीमा सुरक्षा, दंगा नियन्त्रण, दैविक प्रकोप एवंम् विपद् व्यवस्थापनमा उद्धार र राहत तथा राजश्व संकलनको जिम्मेवारीमा रही महत्वपूर्ण कार्य गर्दै आएको छ। बलले यही माघ नौ गते आफनो २३ औँ स्थापना दिवस मनाउँदै छ।

सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी उपस्थिति बढाउँदै लैजाने क्रममा पछिल्लो पटक २५ वटा सीमा सुरक्षा पोष्ट थप गरेको थियो। सीमा सुरक्षामा खटिएका युनिटको चेन अफ कमाण्ड सुदृढ तुल्याउन तथा थप प्रभावकारी परिचान गर्न ४५ वटा सीमा पोष्टलाई नायव उपरीक्षकको नेतृत्व रहने गरी सीमा सुरक्षा गुल्म स्थापना गरिएको छ।

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच हुँदैआएको संयुक्त सीमा गस्तीलाई निरन्तरता दिँदै समन्वय र सहकार्यलाई थप बढाउन मैत्रीपूर्ण खेलकुद तथा समन्वय बैठक समेत आयोजना हुँदैआएको छ।

प्रतिक्रिया दिनुहोस्