टीआरसी सहमतिमै टुंगिन्छ : प्रधानमन्त्री



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शान्ति प्रक्रियाका बाँकी काम सहमतिमै टुंगो लगाउनका लागि अब संसद्को अधिवेशन आह्वान हुनासाथ टीआरसी विधेयक अघि बढाउने बताएका छन्।

युगान्डाको भ्रमण सकेर आइतबार बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै टीआरसी विधेयक सदन खुल्ने बित्तिकै टुङ्ग्याइने बताएका हुन्।

उनले भने, ‘टीआरसीबारे सबै तयारी गरेका छौं। संसद्को उपसमितिबाट समितिमा विधेयक गएको छ। सदन खुल्नेबित्तिकै प्राथमिकताकासाथ राखेर टुंगो लगाइन्छ । अन्तिममा सहमतिबाटै टुंगो लाग्छ । त्यसपछि शान्ति प्रक्रियाका बाँकी कामले गति लिन्छ ।’

उनले आफूले एक वर्षको अवसरमा गरेको सम्बोधनपछि सरकारका कामकारबाहीले गति लिएको पनि आफूलाई महसुस भएको बताए। आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रीमण्डल पुनर्गठन हुनसक्छ भनेर आफूले मन्त्रीहरूलाई भनिसकेको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले उनले आफ्नो युगान्डा भ्रमण सफल भएको बताए। प्रधानमन्त्री असंलग्न आन्दोलनको उन्नाइसौं शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधबार युगान्डा गएका थिए।

प्रतिक्रिया दिनुहोस्